प्रहरीमा गुणस्तरहीन कपडा खरिद भएको पुष्टि

पत्रपत्रिकाबाट

शनिबार, १८ पुस २०७७, ०७ : ५३
प्रहरीमा गुणस्तरहीन कपडा खरिद भएको पुष्टि

काठमाडौं । नेपाल प्रहरीको लत्ता कपडा खरिद स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको छ। नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा बीस हजार मीटर खरिद गर्दा स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको हो।

प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानका क्रममा टेण्डरको क्रममा दिइएको नमुनाभन्दा कमसल कपडा ल्याएर भण्डारणमा दाखिला गरेको पुष्टि भएपछि त्यसका आपूर्तिकर्ता क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिका सञ्चालक पिताम्बर मुन्का र प्रतिनिधि नरेन्द्र नाथ पौडेललाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ।  

सिआइबी प्रमुख डिआइजी सहकुल थापाले प्रहरीले लगाउने गरेका कपडा गुणस्तहीन भएको गुनासो आएको र त्यसको अनुसन्धान गर्ने क्रममा उलन पाइण्टको कपडामा स्वीकृत नमुना नै फरक परेको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए। ‘धेरैपटक कपडा गुणस्तहीन भएको गुनासो आयो जस्ले गर्दा सिआइबीको ध्यान गएको र अब सबै प्रकारको कपडा खरिदको नमुनासहित परीक्षण गरी अनुसन्धान गरिनेछ,’ डिआइजी थापाले भने। 

‘लत्ताकपडा खरिदमा कमिसन र गुणस्तहीन कपडा खरिद’ शीर्षकमा नागरिक दैनिकले २०७६ फागुन २५ गते र २०७६ फागुन ३० गते समाचार प्रकाशित गरेको थियो। सो समाचारपछि तत्कालिन एसएसपी बसन्त पन्तको संयोजकत्वमा छानवीन समिति समेत बनेको थियो। सो समितिले पनि लत्ता कपडा गुणस्तरहीन भएको निष्कर्ष निकालेको थियो। पन्त्को बढुवा भएपछि पनि सो समितले निरन्तर अनुसन्धान गरिररहेको थियो। समितिले साउनदेखि सबै कपडाको गुणस्तर परीक्षण गर्दै निगरानीमा राखेको थियो जसका कारण प्रहरी प्रधान कार्यालयले दिएको प्रतिवेदनको आधारमा सिआइबीले थप अनुसन्धान शुरु गरेको थियो।  

सिआइबीका अनुसार टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रनाथ पौडेलले रोहवरमा राखी नमुना निकाली परीक्षण गर्न २०७७ साउन ३० गते एसजिएस चेन्नाईमा पठाएको थियो। तर २०७७ साउन ३२ सो फर्मका प्रतिनिधि पौडेलले नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल आर्थिक वर्ष २०७३ तथा ०७४ सालमा आफू खुशी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरेका थिए। प्रहरीले पठाएको भन्दै अर्कै नमूना पठाएर उनले प्रहरीको भण्डारण शाखामा बुझाएको कपडालाई गुणस्तीय पुष्टि गराउन खोजेका थिए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस