ओलीको सर्वदलीय बैठकमा मुख्य नेतालाई बोल्नै निषेध !

प्रचण्ड, माधव नेपाल, झलनाथ खनालले बोल्नै पाएनन्, देउवा पनि बोल्दै नबोली बीचमै बाहिरिए

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, ०८ : २८
ओलीको सर्वदलीय बैठकमा मुख्य नेतालाई बोल्नै निषेध !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका शैली र ब्यवहारका कारण सरकारको अलोकप्रियता घट्दै जादा अहिले सडकमा ब्यवस्था विरोधीहरु सलबलाउन थालेका छन् । विभिन्न शक्ति केन्द्रहरुको फन्डिङ (आर्थिक स्रोत साधन परिचालन) मा सडकमा गणतन्त्र विरुद्ध नाराबाजी लागिरहेको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नामलाई हटाई सरकारले छोटकरीमा नेपाल मात्र लेख्ने र ब्यवस्था विरोधी शक्तिहरुको आन्दोलनलाई छुट दिने गृहप्रशासनको गतिविधिले ब्यवस्थामा आँच आउन सक्ने भन्दै नेकपा स्थायी समिति बैठकमा यस विषयमा विशेष प्रस्ताव बनाएर छलफल गर्नुपर्ने नेता जर्नादन शर्माले लिखित प्रस्ताव नै राखेका थिए । अध्यक्ष प्रचण्डले पनि सडकमा ब्यवस्था विरुद्ध लागिरहेका नाराका विषयमा राजनीतिक दलहरुले साझा धारणा बनाउनु पर्ने र त्यसका लागि सरकारले सर्वदलीय बैठक आव्हान गर्नसक्नु पर्ने बताएका थिए ।

सर्वदलीय बैठकको आवश्यकताको खाँचो खासमा प्रचण्डले पार्टी बैठकमा अथ्र्याएका थिए । त्यसको भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले मंगलबारका लागि बैठक बालुवाटारमा बोलाए । संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई समसामायिक विषयमा छलफल गर्ने भन्दै ओलीले बिहान ११ बजे सर्वदलीय बैठक बोलाए ।  बैठक अगाडी कुन विषयमा कसरी छलफल गर्ने भन्दै त्यसको प्रारम्भिक तयारीका लागि उनले सर्वदलीय बैठक अगाडी मन्त्रिपरिषद् बैठक पनि बोलाए । सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु पनि सहभागी भए ।

नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल, काँग्रेस सभापति शेरबहादुर देउवा सम्मका नेता बैठकमा पुगे । तर त्यहाँ प्रचण्ड, नेपाल र खनालले बोल्नै पाएनन् । उनीहरुले बैठकमा कुनै धारणा नै राखेनन् । काँग्रेस सभापति देउवा पनि आफ्नो धारणा नराख्दै रामचन्द्र जी यही हुनुहुन्छ, उहाँले पार्टीका तर्फबाट धारणा राख्नुहुन्छ भन्दै बाहिरिएका थिए । कतिपयले यसलाई अनौठो ढंगले पनि हेरेका छन् । आफ्नै पार्टी नेकपाभित्र अन्तरसंर्घष झेलिरहेका  र कतिपय ले सरकारकै कार्यशैलीका कारण प्रतिगमनकारी शक्तिहरु सल्बलाउन थालेको बताएपछि मुख्य नेताहरुलाई बोल्न नै एकप्रकारले प्रतिबन्ध जस्तै लागेको थियो ।

सोही कारण प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल लगायत नेताहरुले बोल्दै बोलेनन । प्रचण्ड, नेपाल र खनाल अहिले नेकपाभित्रको अन्तरसंर्घषमा ओली इतर खेमामा छन् । उनीहरुले सर्वदलीय बैठकको अन्तिमसम्म बसे, अन्य नेता तथा राजनीतिक दलका नेताहरुका कुरा सुने तर आफ्नो धारणा राख्नै नपाई फर्किए । सर्वदलीय बैठकको शुरुमै आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले कोभिड १९ र राजावादीहरुको प्रर्दशन, विप्लव नेतृत्वको नेकपाका गतिविधिका विषयमा धारणा राख्दै यी विषयहरुमा राष्ट्रिय सहमति जुटाउने र सबै दल तथा नेताहरुको साझा धारणा बनाउने उदेश्यका साथ सर्वदलीय बैठक बोलाएको बताएका थिए ।

बैठकको शुरुमै ओलीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले गरिरहेका गतिविधि प्रति लक्षित गर्दै धारणा पनि राखेका थिए । सरकारले गरिरहेका काममा आफ्नै पार्टीका नेताहरुले पनि देख्न नसकिरहेको भन्दै उनले प्रचण्ड नेपाल लगायतका नेताहरुले अहिले पार्टीभित्र चलाईरहेको अन्तरसंर्घषमा असन्तुष्टि जनाएका थिए ।

तर सर्वदलीय बैठकमा ओलीले आफ्नै प्रधानमन्त्री र सत्तारुढ दल नेकपाको अध्यक्षका रुपमा प्रस्तुत भएर नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई बोल्ने समय उपलब्ध गराएनन् । प्रधानमन्त्रीले आफ्नो आलोचना आफ्नै पार्टीका नेताले सर्वदलीय बैठकमा उठाउन सक्ने भए ओलीमा थियो । सोही कारण पनि उनले प्रचण्ड लगायतका नेतालाई बोल्ने मौका दिएनन् ।