‘अल्पमतमा परेपछि ओली आजको सचिवालय बैठकमा नजाने’

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, ०७ : ४२
‘अल्पमतमा परेपछि ओली आजको सचिवालय बैठकमा नजाने’

काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टी बैठकमा अल्पमतमा परेपछि बैठकमै नजाने भएका छन् । अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गते पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्ताव सकभर पार्टी कमिटिमा छलफलमै लान नदिन उनले गरेको प्रयास मंगलबारको सचिवालय बैठकमा असफल भएपछि ओली आजको सचिवालय बैठकमा आउदिन भनेर बैठकवाट हिडेका थिए ।

नेकपाको सचिवालयको बैठक आज दिउँसो पनि १ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको छ । हिजोको बैठक धुम्बाराहीमा बोलाइएपनि सुरक्षा थ्रेट देखाउदै ओलीले अन्तिममा बैठक बालुवाटारमा नै राख्न आग्रह गरेका थिए । शुरुमा प्रचण्डले बैठक धुम्बाराही स्थित पार्टी कार्यालयमै बस्ने बताएपनि धुम्बाराही आफु सुरक्षाका कारण आउन नसक्ने जनाएपछि पछि बैठक बालुवाटारमै सारिएको थियो ।

बैठकमा ओलीले आफै राज्य भने जसरी प्रस्तुत भएका थिए । शुरु देखि नै निक्कै आक्रामक रुपमा प्रस्तुत हुन खोजेका ओलीले प्रचण्डको प्रस्तावलाई लान्छनापत्र भन्दै बैठकको कार्यसूचि नै नबन्ने, प्रचण्डलाई अनुशासनको कारवाही गर्नुपर्ने, प्रस्ताव ल्याएकोमा माफी माग्नुपर्ने अनि मात्र बैठक बस्न सक्ने जस्ता जिकिर बैठक अवधीभर गरिरहेका थिए । प्रचण्ड बोलिरहदा पनि बेला बेला हस्तक्षेप गरेर बोल्न सक्क नदिने गरी रणनीतिक रुपमा ओली मंगलबारको सचिवालय बैठकमा उत्रन खोजेका थिए ।

तर प्रचण्डले आफ्नो प्रस्ताव पार्टीमा छलफल नै हुन नसक्ने भन्दै प्रधानमन्त्री ओली को हुन् ? भन्दै प्रतिवाद गरेका थिए । आफ्नो प्रस्ताव पार्टी कमिटिमा छलफल हुने नहुने पार्टी कमिटिले भन्ने हो, ओलीले होइन भन्दै प्रचण्डले प्रतिवाद गरेपछि मात्र अन्य नेताहरुले पनि छलफल किन हुन सक्दैन ? अब यो छलफलमा गईसक्यो भन्दै प्रचण्डलाई साथ दिएका थिए । ९ सदस्यीय सचिवालयमा ओलीले छलफल नै हुन सक्दैन भन्दै गरिरहेको तर्कमा महासचिव विष्णु पौडेलले मात्र साथ दिएका थिए ।

अन्य ७ नेताले अब यो छलफलमा गईसकेको बताएपछि ओली केही मत्थर भएका थिए । त्यसपछि उनले फेरि बैठकमा अर्काे बखेडा झिके, केही दिन बैठक सारौं । उनले शुरुमा ५, १० दिन बैठक रोकेर पहिले नेताहरुका बीचमा छलफल गर्नुपर्ने र त्यसपछि मात्र बैठक राख्नुपर्ने जिकिर गरिरहे । नेताहरुले बैठक रोक्न नसकिने बताए । प्रचण्डले आजका लागि दिउँसो ३ बजे बैठक राख्न खोजे । तर वरिष्ठ नेता माधव नेपालले १ बजे नै बैठक राख्न आग्रह गरे । त्यसपछि १ बजे सचिवालय बैठक तय भयो ।

यो बैठकमा अब अहिलेसम्म सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्ताव, बैठक राख्न माग गरि लेखिएको ५ नेताको पत्र, जवाफमा ओलीले लेखेको पत्र सहितका सबै पत्र राखेर छलफल गर्ने गरी बहुमत सदस्य एकातिर उभिएपछि छलफल हुने भयो । त्यसपछि भने प्रधानमन्त्रीले बैठकमा नआउने भन्दै बैठकलाई धम्की दिएको सचिवालयका एक सदस्यले भने । ओलीले आफ्नो अन्यत्र काम रहेको र ब्यस्त रहेको भन्दै जे मन लाग्यो त्यही गर्न भन्दै बैठकवाट उठेर हिडेका थिए । आजको सचिवालयमा नजाने उनी निकटका एक स्थायी समिति सदस्यले बताए । 

ओली सचिवालयमा समेत अल्पमतमा छन् । स्थायी समिति र केन्द्रीय समितिमा पनि अल्पमतमा छन् । अल्पमतमा परेपछि आफु विरुद्द पार्टीले अब एक्सन लिने देखेपछि ओलीले बैठकमै नगएर पार्टी नेताहरुलाई धम्काउने अर्काे रणनीति बनाउन खोजेका छन् ।