चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि बिहीबार कार्यकक्षमै भौतिक आक्रमण भएको छ। उक्त घट्नाको विरोधमा चितवनका अन्य छ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेका छन्।
२०८३ साल असार १८ गते बिहीबारका दिन गाउँ कार्यपालिकाको कार्यालयमा नागरिक सेवा प्रवाहमा खटिरहेको अवस्थामा अधिकृत बस्नेतमाथि अपराधिक एवं निहित स्वार्थप्रेरित समूहद्वारा सुनियोजित ढंगले भौतिक आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ। प्रशासनिक प्रमुखहरूले यो आक्रमण केवल एक कर्मचारीमाथि मात्र नभई समग्र सार्वजनिक प्रशासन संयन्त्र र विधिको शासनमाथिको खुला चुनौती भएको ठहर गरेका छन्।
"कानुनलाई हातमा लिई ज्यान मार्ने नियतका साथ घटाइएको यस्तो अराजक घट्नाले कानुनी शासनको उपहास गरेको छ," संयुक्त विज्ञप्तिमा भनिएको छ, "यसले राष्ट्रसेवक कर्मचारीहरू कार्यस्थलमै असुरक्षित रहने र भयभीत वातावरणमा काम गर्नुपर्ने गम्भीर संकट सिर्जना गरेको छ। कार्यक्षेत्रमा निष्पक्ष र भयरहित रूपमा सेवा प्रवाह गर्ने वातावरणलाई धमिल्याउने यस्ता क्रियाकलाप अक्षम्य हुन सक्दैनन्।"
विज्ञप्ति मार्फत चितवनका प्रमुख प्रशासकीय अधिकृतहरूले उक्त अपराधिक घट्नामा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न दोषीलाई अविलम्ब पहिचान गरी कानुन बमोजिम हदैसम्मको कडा कारबाही गर्न नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग जोडदार माग गरेका छन्। साथै, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको कार्यस्थलको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न समेत अनुरोध गरिएको छ।
संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा भरतपुर महानगरपालिकाका वीरेन्द्र भारती, रत्ननगर नगरपालिकाका प्रकाश खनाल, खैरहनी नगरपालिकाका नेत्रप्रसाद पौडेल, कालिका नगरपालिकाका देवराज चौलागाईं, राप्ती नगरपालिकाका प्रदिप पौडेल, र माडी नगरपालिकाका जगत् प्रसाद भुषाल रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०८३, १६ : ०२
लेखकबाट थप