काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् । त्यसका लागि प्रचण्ड तयार हुने कि नहुने भन्दै उनले आफ्नो जवाफी प्रस्तावमार्फत प्रश्न समेत गरेका छन् ।
प्रचण्डले यसअघि ल्याएको प्रस्तावमाथि लिखित जवाफ दिन ओलीले ल्याएको प्रस्तावमा भनिएको छ, ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’
उनले आगामी महाधिवेशनबाट आफू अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी स्थायी समिति बैठकमै गराइसकेको बताउँदै नेतृत्व परिवर्तनको चलखेल नगर्न प्रचण्डलाई सचेत समेत गराएका छन् ।
‘यो भन्दा बढी मैले के त्याग गर्नु पर्ने हो ? तर मेरो मनमा एउटा गम्भीर प्रश्न छ– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ?’, ओलीले भनेका छन्, ‘के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन? दुई वर्षपछि आम निर्वाचन हुन्छ । मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप ? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौँ भने हामीसँग लाखौँ कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?’
ओलीले प्रचण्डले आफूमाथि ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाएको आरोप अस्वीकार गरेका छन् । यस्तै आफूमाथि ‘भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको’, ‘विदेश मामला र कुटनीतिमा ‘अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पु¥याएको’, ‘सङ्घीयता विरोधी’, आदि फौजदारी प्रकृतिका सङ्गीन र झुठा लाञ्छनाहरु प्रच्ण्डले प्रस्तावमा लगाएको प्रति पनि तीव्र असन्तुष्टि जनाएका छन् ।
‘कहिलेकाँही आफै छक्क पर्छु, कम्युनिष्ट आन्दोलनमा यो कस्तो सङ्क्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ ? यी यति अराजनीतिक आरोपहरु हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ । म यी सबै आरोपलाई एकमुष्ट खारेज गर्दछु ’, ओलीले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०७७, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा
नेकपाको प्रतिवद्धता पत्रः १० प्रतिशत आर्थिक वृद्धि, प्रतिवर्ष ५ लाख रोजगारी, प्रत्यक्ष निर्वाचित कार्यकारी र सुशासनको ‘समाजवादी मार्गचित्र’
निर्वाचन तयारी सुदृढ बनाउन नेकपाले सातै प्रदेशमा नेताहरूलाई खटायो
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित
बद्री न्यौपाने नेकपामा प्रवेश
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित