सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारप्रति पार्टी कार्यलय चितवनको खेद, अराजक व्यक्तिहरुलाई छानविन गरी कारबाही गरिने

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, १० : २७
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारप्रति पार्टी कार्यलय चितवनको खेद, अराजक व्यक्तिहरुलाई छानविन गरी कारबाही गरिने

चितवन । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथी एक कार्यक्रममा भएको अभद्र व्यवहारप्रती नेकपा जिल्ला कार्यलय चितवनले खेद प्रकट गरेको छ । नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोख्रेलले आइतवार एक विज्ञप्ती जारी गर्दै पाण्डेमाथी भएको अभद्र व्यवहार प्रति खेद प्रकट गरेका हुन् ।

विज्ञप्तीमा घटनामा संलग्न त्यस्ता अराजक व्यक्तिहरुलाई छानविन गरी पार्टी विधानबमोजिम कारबाही गरिने जनाइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘नेकपा विधि र पद्धतिगत ढंगले चल्ने अनुशासित पार्टी हो, तर विगत केही दिनदेखि पार्टीको विधान र केन्द्रीय कार्यालयको पाँचौँ अन्तरपार्टी निर्देशनविपरीत मदन भण्डारी फाउन्डेसन सञ्चालन गर्दै आएका केही अनुशासनहीन र अराजक समूहले पार्टी नेताहरुको मान मर्दन गर्ने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचारका साथै अनुशासनहीन गतिविधि गर्दै आएको जानकारी हनु आएको छ । त्यस्ता अराजक व्यक्तिहरुको झुण्डबाट नै सुनियोजितरुपमा उक्त घटना घटाइएको हो’

विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यस्ता अराजक गतिविधिबाट पार्टीका कुनै पनि कमिटी तथा कार्यकर्ताहरु प्रभावित नहुन र पार्टीको विधि,विचार र सिद्धान्तबमोजिम साँगठनिक कार्यमा लाग्न जिल्ला कमिटी चितवन आह्वान गर्दछ साथै घटनामा संलग्न त्यस्ता अराजक व्यक्तिहरुलाई छानविन गरी पार्टी विधानबमोजिम कारबाही गरिने व्यहोरासमेत जानकारी गराउँदछौं ।’

राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए । नाराबाजीका कारण केहीबेर कार्यक्रम अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस