राष्ट्रपति आलोचित बन्दै गएपनि फेरी भेटिन् नेकपाका अर्का नेता

नेकपा उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा भेटेपछि राष्ट्रपतिले उर्जामन्त्री समेत रहेका स्थायी समिति सदस्य वर्षमान पुनसँग पनि भेट गरेकी छिन्

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०७७, ०८ : ५३
राष्ट्रपति आलोचित बन्दै गएपनि फेरी भेटिन् नेकपाका अर्का नेता

काठमाडौं । सत्तारुढ दल नेकपाको आन्तरिक विवादमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेको भन्दै पटक पटक आलोचित बन्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई बास्ता गरेकी छैनन् । उनले पार्टीका नेताहरुलाई पालैपालो शितल निवासमा बोलाएर प्रधानमन्त्री केपी ओलीको सत्ता संकट कसरी टार्न सकिन्छ र ओलीलाई कसरी बलियो बनाउन सकिन्छ भनेर अनेक प्रयास गरिरहेकी छिन् ।

पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा परेका प्रधानमन्त्री ओलीको पक्षमा नेताहरुलाई प्रभावमा पारेर बहुमत सिद्ध गराउने कोसिसमा उनी लागेकी छिन् । ओलीले भनेको र लिएको ढिपिमा साथ दिएरै भएपनि अहिले पार्टी एकता जोगाउनु पर्ने भन्दै उनले प्रभावशाली नेताहरुलाई नै शितल निवासमा बोलाएर आग्रह गर्न थालेकी छिन् ।

शुक्रबार मात्रै नेकपाका दुई अध्यक्षको आ–आफ्नै अडानका कारण पार्टी सचिवालयको अनौपचारिक बैठक बोलाउने निर्णयमा प्रचण्ड पुगेका बेला राष्ट्रपति भण्डारीले प्रचण्डका निकट नेता वर्षमान पून (अनन्त)लाई शितल निवास बोलाएर झण्डै दुई घण्टा छलफल गरेकी थिइन् । यस अगाडी पनि मंगलवार उनले उपाध्यक्ष वामदेव गौतम र बुधबार गृहमन्त्री रामबहादुर थापा (बादल)लाई बोलाएर भेटेकी थिइन् ।

उनले नेकपा नेताहरुलाई यस्तो बेला भेट्न बोलाउने गर्छिन, जुन बेला नेकपामा आन्तरिक पार्टी बैठक बस्ने, प्रधानमन्त्री ओलीलाई अप्ठयारो पर्ने र ओलीको बचाउ गर्नुपर्ने अवस्था आयो भने उनि सक्रिय भईहाल्छिन् । अहिले पनि गत भदौं २६ को स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयनमा अटेर गर्दै आएका ओलीको रवैयाका विरुद्द बहुमत पार्टी सचिवालय सदस्यले बैठक माग गर्दा समेत ओलीले रोकिरहेका छन् । पार्टी कामको जिम्मेवारी तोकिएका कार्यकारी अध्यक्ष प्रचण्डलाई समेत उनले पार्टी बैठक बसालेर कुनै काम गर्न दिएका छैनन् ।

अहिले ओलीले आफु माथीको संकट टार्न अनेक प्रयास गरिरहेका बेला राष्ट्रपति सक्रिय भएकी हुन् । उनको सक्रियतालाई स्यवं सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस लगायतले पनि रुचाएको छैन् । आलोचना गरि नै रहेका छन । तर पनि उनले आलोचनालाई नसुनी एकोहोरो सक्रिय राजनीतिमा चासो देखाईरहेकी छिन् । उनले शितल निवासमा बोलाउने पात्र पनि गज्जबको हुने गरेको छ ।

अस्थिर देखिएका, ढुलमुलमा रहेका र बीच बीचमा रहन सक्ने पात्र छनौट गरेर राष्ट्रपतिले ति नेताहरुलाई फोन गरेर भेट्न बोलाउने गरेकी छिन् । भेटमा बोलाएका नेताहरुलाई पार्टी एकता जोगाउन तपाईले भूमिका खेल्नुपर्यो । अहिले विवादमा अल्मलिनु भएन, दुई अध्यक्षको भएको कार्यविभाजन अनुसार नै जान प्रयास गर्नुपर्यो भन्दै ओलीको बचाउमा लविङ गर्न थालेकी छिन् ।

ओली नेतृत्वको सरकारमै रहेका उर्जामन्त्री पून सँग पनि उनले सोही आग्रह गरेकी हुन् । ‘तपाईले चाहनुभयो भने अध्यक्ष प्रचण्ड सम्मलाई पनि मनाउन सक्नुहुनछ, तपाईको भूमिका पार्टीमा अब्बल छ, तपाईले पार्टी एकताको पक्षमा भूमिका खेलिदिनुपरयो,’– राष्ट्रपतिले शुक्रबार आफ्नै निवास बोलाएर उर्जामन्त्री पूनलाई आग्रह गरेको स्रोतले बताएको छ । पूनले आफुहरु पार्टी एकताको पक्षमै रहेको र पार्टी विभाजन नहुने कुरामा सक्दो प्रयास गरिरहेको धारणा राखरेर फर्केको पनि स्रोतले बताएको छ ।