कर्णालीमा के गर्न खोजेका थिए प्रधानमन्त्रीले ?

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०७७, ०८ : २२
कर्णालीमा के गर्न खोजेका थिए प्रधानमन्त्रीले ?

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो क्याविनेट पूर्नगठन गर्ने तयारी गरेपछि वालुवाटारमा शनिवार दिउँसैबाट खैलाबैला मच्चिएको थियो । ‘सूचना हामीलाई शनिवार नै आएको थियो, कर्णालीका मुख्यमन्त्रीले क्याविनेट पूर्नगठन गर्न लागेका छन्, ’ ओली निकट नेता सुवास नेम्वाङले भने,–‘आइतबार एकपक्षिय रुपमा क्याविनेट पूर्नगठन गर्ने तयारी गरिएको रहेछ, त्यसलाई रोक्न प्रचण्ड कमरेडलाई महिले पनि फोनबाट आग्रह गरे ।’

उनका अनुसार आइतबार विहानै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रचण्डलाई टेलिफोन गरेर कर्णालीको मन्त्रिमण्डल पूर्नगठन रोक्न भनेका थिए । महासचिव विष्णु पौडेलको फोन पनि प्रचण्डलाई गएको थियो ।

ओली पक्षका तीन नेताको प्रचण्डलाई फोन गएपछि प्रचण्डले तत्काल पूर्नगठन रोक्न मुख्यमन्त्रीलाई निर्देशन गरेपछि त्यहाँको क्याविनेट पूर्नगठन रोकिएको ओली पक्षका नेताहरुको भनाई छ ।

ओली र प्रचण्ड टेलिफोन संवादमा अलि चर्काचर्की समेत परेको स्रोतले बताएको छ । ओलीले प्रचण्डलाई भनेका थिए, – ‘ठिक छ, तपाईहरुले कर्णालीमा चाहेको गर्नुस्, तर त्यसको परिणाम तपाईहरुले सोच्दै नसोचेको पाउनुहुनेछ । तपाईहरुले स्टेप चाल्ने वित्तिकै म पनि तपाईहरुले सोच्दै नसोचेको स्टेप लिन्छु ।’

प्रधानमन्त्री ओलीले प्रचण्डसँग नसोचेको स्टेप लिन्छु भन्नुको अर्थ के थियो ? अहिले विभिन्न चर्चा परिचर्चा हुन थालेका छन् । तर ओलीले वालुवाटारमा आइतबार विहान आफना कोर टिमका नेताहरु इश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली लगायतका उनका सचिवालयका सल्लाहकार टिमसँगको सम्वादमा आफुले प्रचण्डका लागि अप्रिय हुने निर्णय त्यसपछि लिने बताएका थिए ।

उक्त छलफलमा भने महासचिव विष्णु पौडेललाई अन्तिम समयमा मात्र बोलाईएको थियो ।

ओलीले प्रचण्डलाई म जुनकुनै स्टेप नसोचेको चाल्न सक्छु भनेर के भन्न खोजेका थिए ? उनी निकट कोर टिमका एक सदस्यका अनुसार, ओलीले पूर्व माओवादी समुहका केही मन्त्रीलाई हटाउने र संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई हटाएर आफनो निकट नेतालाई उत्तिन्खेरै नियुक्ति गर्न खोजेका थिए ।

ओलीको यो पहिलो स्टेप मात्र होइन, उनले कर्णालीकै हकमा समेत अर्काे अप्रिय निर्णय लिन खोजेका थिए ।  उनले कर्णालीमा भने त्यहाको सरकारलाई वर्खास्तगी गर्ने सम्मको योजना बनाएका थिए । ओलीले वालुवाटारमा आफु निकट भित्रियाहरुसँगको संवादमा आइतबार भनेका थिए, – ‘कर्णालीमा हाम्रा मन्त्री हटाएर मात्र देखाउन् म त्यहाको सरकारलाई नै बर्खास्त गरिदिन्छु ।’

ओलीले कर्णाली प्रदेश सरकारलाई बर्खास्त गरी भारतमा झै प्रदेश प्रमुख मार्फत राष्ट्रपति शासन लगाउने गरी अगाडी जाने सम्मको योजना आफु निकट नेताहरुसामु सुनाएका थिए ।

कर्णाली प्रदेशमा अहिले  गोविन्दप्रसाद कलौनी छन् । उनी  ओली निकटका हुन् । पटक पटक निर्वाचनमा टिकट लिएर उठेपनि पराजित मात्रै भईरहेका कलौनीलाई ओलीले अन्तिममा आफनो गुटमा निरन्तर लागिरहेकै कारण प्रदेश प्रमुखको जिम्मेवारी सुम्पेका थिए । ओलीको यो सम्भावित कदमले नेकपालाई विभाजनको बाटोमा लाने थियो ।

प्रतिक्रिया दिनुहोस