‘पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’

सफल खबर संवाददाता

बुधबार, २५ असार २०८२, ११ : ३०
‘पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’

मुगु । तीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कट्ठा जग्गा बगाइदियो । अहिले पनि आकाशमा कालो बादल मडारिँदा मुटु हल्लिन्छ । पुरानो घटना सम्झिन्छिन् । यस वर्षको मनसुन सुरु भइसक्यो । पानी पर्न थाल्यो । समस्या ज्युँका त्युँ छ । 

राती पानी पर्‍यो भने आफूलाई लाग्ने डर त छँदैछ बच्चाहरूले ‘घर छोडेर जाम आमा’ भन्दा चन्दाको मुटु भक्कानिन्छ । घर छोडेर जाने सुरक्षित स्थान कतै छैन । पहाडको खोचबाट आएको बाढीले फराकिलो बनाएको रुम खोलो बस्ती नजिकै भएर बगेको छ । बस्तीको तलपट्टि मुगु कर्णाली गडगडाएर झनै डरलाग्दो छ । तारापानीसँगै जोडिएको सीप गाउँको विजय आधारभूत विद्यालयको भवन जीर्ण छ । नजिकै अस्थायी प्रहरी पोस्ट छ ।

पोस्टकाे दुईतर्फ खोला छन् । अस्थायी प्रहरी पोस्ट पनि कतिखेर कटानमा पर्ने हो थाहा छैन । अगाडि मुगु कर्णाली सुसाइरहेको छ । सम्भावित जोखिम सम्झेर बोल्दाबोल्दै आँखा चिम्म गर्छिन् चन्दा –‘राती ठुलो पानी पर्‍यो भने हामीलाई निन्द्रा आउँदैन । घरभित्र र घरबाहिर गरेर बस्छौँ । घर छोडेर जाऊँ भनेर बच्चा कराइरहन्छन् । पानी पर्‍यो भने हामीलाई पनि डर लाग्छ । बच्चा त झनै डर मान्छन् । कता जाने ? सरकारी भवन जाऊँ भने पनि त्यो पनि जोखिममा छ । प्रहरी चौकी पनि दोहोरो खोलाको जोखिममा छ ।  तल पनि जोखिममा नै छ । हामी सबै जोखिममा परेका छौँ । हामीलाई तटबन्ध गरेर सहयोग गरे हुन्थ्यो । ’

पहिरोले खेतबारी बगाएपछि स्थानीय गैरसरकारी संस्थाले गरेको सहयोगले प्रभावितको जीविकोपार्जनलाई सहयोग पुगेको छ । संस्थाले बाढी पहिरोले उबडखाबड भएको जमिन सम्याउन कृषि औजार दियो, विपद्मा उद्धारका सामग्री थियो । विपद्मा ज्यान जोगाउन सिकायो । सिँचाइको व्यवस्था गर्‍यो । अहिले तरकारी खेती गर्न सहज भएको छ । जीविकोपार्जन त सजिलो भयो तर जोखिम उस्तै छ । तटबन्ध बनाउन पाए ढुक्कसँग निदाउन सकिने थियो भन्ने लागेको छ चन्दा लाई ।

उनी भन्छिन्  ‘३ वर्षअघि आएको बाढीले ५ कट्ठा जग्गासहित घर पनि बगाइदियो । जिएसएस संस्थाले कृषि औजार पनि दियो । कुलो बनाइदिएको छ । अहिले धान, गहुँ रोप्छौँ । तरकारी खेती पनि गर्छौँ । तरकारीको टनेल, बीउ दिनुहुन्छ । तालिम दिनुहुन्छ । अहिले एकदम सजिलो भएको छ । बाटोघाटो पहिरोले बन्द गर्‍यो भने समूह गएर मिलेर पहिरो पन्छाउने गर्छौँ । तर हामी अहिले पनि जोखिममा छौ । तटबन्ध गर्न सहयोग गरे हुन्थ्यो ।’

हरेक वर्षको मनसुनमा खोलाले धार परिवर्तन गरी बस्तीतर्फ सोझिएको छ । बसाई सर्ने विकल्प छैन । तटबन्ध छैन । राती पानी पर्‍यो भने तारापानी बासी निदाउन सक्दैनन् । तटबन्ध गर्न स्थानीयवासीले सङ्घ, प्रदेश, पालिका, वडा सबैसँग हारगुहार गरे । तर कसैले सुनेनन् । स्थानीय विजय रावल विपद्को तालिमसहित उद्धारका सामग्री पनि दिएको स्थानीय गैरसरकारी संस्थाले तटबन्ध पनि गरिदिए हुन्थ्यो भन्छन् । 

रावलले भने ‘हिजो त्यत्रो पानी पर्‍यो । खोला नजिकको बस्ती भएकाले पानी पर्ने बित्तिकै हामी जोखिममा पर्छौ । त्यसैले तटबन्ध गरिदिए हुन्थ्यो जस्तो लाग्छ । गाउँपालिकासँग माग गरियो । वडामा माग गरियो । सङ्घ प्रदेशलाई भन्दा पनि सुन्दै सुनिदिँदैनन् । 

यो संस्थाको सहयोग जारी रहे हामीलाई अलिकति राहत मिल्थ्यो कि ? संस्थाबाट नै केही काम हुन्थ्यो कि भन्ने हामीलाई आस लागिरहेको छ । जीएसएस संस्थाको सहयोगबाट बाटो मर्मत गरियो । अहिले सिँचाइको पनि व्यवस्था गरिएको छ ।  विपद्को तालिम लिएका छौँ । हामीले ८ वटा कृषि औजार पाएका छौ । एक जनाको घरमा राख्दा चोरी हुने डरका कारण विपद् उदारको लागि संस्थाले दिएका सामानहरू  प्रहरी चौकीमा राखेका छौ ।’

विक्रम सम्वत २०७९ भन्दा अघि तारापानी गाउँ हराभरा थियो । २०७९ असोज १८ गतेको बाढीले गाउँको हरियाली मात्रै नष्ट गरेन स्थानीयको सम्पत्तिमा ठुलो क्षति गर्‍यो । ६० घरधुरी रहेको तारापानीका ७ घर बाढीले पूर्णरुपमा ध्वस्त बनायो । बाढी प्रभावित तारागाउँ बासीले अहिलेसम्म राहतको नाममा सरकारबाट केही पाएका छैनन् ।

पीडितको तथ्याङ्क मिलेन भनेर स्थानीय सरकारले ३ वर्ष भइसक्दा पनि राहत वितरण प्रक्रिया अघि बढाएको छैन । स्थानीय जीएसएस संस्थाले तारापानी विपद् समूह गठन गरी विपद् प्रतिकार्यमा स्थानीयलाई जुटायो । खोलाको पानी डाइभर्सन गरेर सिँचाइ, पहिरो नियन्त्रणका लागि वृक्षारोपण, विपद् प्रतिरक्षाको तालिम, विपद् उद्धारका सामग्री लगायतमा स्थानीय गैरसरकारी संस्थाको सहयोग पाएपछि अहिले तारापानीबासी आफैँ विपद् व्यवस्थापनमा जुटेका हुन् । स्थानीय मानबहादुर बुढा सरकारले भन्दा संस्थाले ठुलो सहयोग गरेको बताउँछन् । 

उनले भने, ‘२०७९ भन्दा अगाडि तारापानी गाउँ हराभरा थियो । २०७९ असोज १८ गतेको बाढीले ठुलो धनको क्षति गर्‍यो । २०८० साल साउनको ६ गते हामीले तारापानी विपद् समूह गठन गर्‍यौँ । पहिरोलाई रोकथाम गर्न माथिल्लो क्षेत्रमा बोटबिरुवा लगायौँ । जीएसएस भन्ने संस्थाबाट  समूहका ८ जनालाई कृषि औजार दिने कुरा भयो । हामी बैठक बसेर हाम्रो समूहमा सबै भन्दा कमजोरलाई त्यो औजार दिने निर्णय गर्‍यौँ । गाउँघरमा औजार नै पाइँदैनथ्यो ।

संस्थाले पाल (बेमौसमी तरकारीका लागि टनेल) पनि दियो । चाहिएको समयमा हामी सबैले मिलेर प्रयोग गर्थ्यौँ । त्यसपछि बेमौसमी तरकारीका लागि टनेल, बीउ लगायतका सामग्रीहरू पनि दिए । सिँचाइको कुलो बनाइदियो । यसले ६० जनाले सिँचाइ सुविधा पाएका छन् । जुत्ता सिलाई तालिम पनि प्राप्त गरेका छौँ । फाटेका जुत्ता फाल्थ्यौँ । अहिले सिलाएर लगाउँछौँ । एक दुई महिना चल्छौँ हामी अनि बल्ल नयाँ जुत्ता किन्छौँ । ’

स्थानीय तहमा काम गर्दै आएको जीएसएस संस्थाले दिएको विपद् उद्धार सामग्रीलाई अस्थायी प्रहरी पोस्टको कार्यालयमा राखिएको छ । अस्थायी प्रहरी पोस्ट तारापानीका प्रहरी हवलदार चन्द्रबहादुर जिसी भन्छन्– ‘विपद्को समयमा समन्वय गर्न सजिलो होस् भनेर समूहले उद्धारका सामानहरू जिम्मा लगाउनुभएको छ त्रिपाल, लाइफ ज्याकेट, डोरी, बुट, रेनकोट लगायत विपद् उदारका सामानहरू संस्थाले हामीलाई जिम्मा लगाउनुभएको छ । यहाँ बाढीको जोखिम छ । विपद्को समयमा छिटो छरितो होस् भन्नका लागि हामीले तयारी अवस्थामा राखेका छौ । पानी पर्‍यो भने माथिबाट ढुंगा झर्ने, अनि अगाडि नै खोला भएकाले बाढीको पनि जोखिम छ । ’

सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही दुर्गम कर्णाली प्रदेशका हिमाली जिल्लाका गाउँपालिकाहरूमा पर्याप्त बजेट अभावका कारण जन चाहनाअनुसार विकास गर्न नसकिएको बताउँछन् । उनले दुर्गम क्षेत्रको विकास निर्माणको काममा गैरसरकारी संस्था र निजी क्षेत्रलाई आकर्षित गर्न केन्द्र सरकारले राम्रो सहजीकरण गर्नुपर्ने बताए ।

उनले भने– ‘म आफैँ पनि स्थानीय सरकारको प्रमुख हो । तीनै तहको सरकारसँग मेरो अनुरोध छ , हामीले निजी क्षेत्र र सङ्घसंस्थालाई सहजीकरण गरेर विकास निर्माणका कामहरूमा सहकार्य गर्नुपर्छ । नेपाल सरकारको बजेटले मात्रै पूर्वाधारका कामहरू गर्न नसक्ने भएकाले दुर्गम र पछाडि परेका क्षेत्रको भौतिक पूर्वाधार निर्माण लगायत विकासका कार्य योजनाहरुमा सङ्घसंस्थालाई संलग्न गराउनुपर्छ ।’

विपद् तथा आकस्मिक घटनाहरूमा स्थानीय महिलाहरू सजग हुन थालेका छन् । जसले जनधनको क्षति कम गर्न मद्दत पुगेको छ । -न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस