राष्ट्रपतिले एक्कासी किन बोलाइन् दुई मन्त्रीलाई शितल निवास ?

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई बोलाएर शितल निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन्

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, ०९ : २२
राष्ट्रपतिले एक्कासी किन बोलाइन् दुई मन्त्रीलाई शितल निवास ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सोमबार आफ्नै निवास शितल निवासमा दुई मन्त्रीलाई अर्पझट् बोलाइन् । छुट्टाछुट्टै ति मन्त्रीहरुलाई भेटिन अनि झण्डै दुई दुई कुराकानी गरेकी छिन् । राष्ट्रपतिकै निम्तोमा शितल निवास जाने ति दुई मन्त्री थिए,– नवनियुक्त अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु प्रसाद पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ।

दुवै मन्त्री अहिले प्रधानमन्त्री ओली निकटका नेता हुन् । ओलीको सत्ताको रक्षाकवज बनेर बेला बेला उभिदिने गरेकी राष्ट्रपति भण्डारीले अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टलाई नै महत्व दिएर किन बोलाइन् ? अहिले नेकपावृतमा चर्चा छ ।  राष्ट्रपति भण्डारीले सोमबार अर्थमन्त्री पौडेललाई बिहान ११ बजे बोलाएर झण्डै डेढ घण्टा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टलाई दिउँसो २ देखि ४ बजेसम्म शितल निवासमा भेट गरेकी थिइन् ।

भट्ट पूर्व माओवादी धारका भएपनि अहिले सत्तासिन दल नेकपाभित्र प्रधानमन्त्री ओली निकटका नेताका रुपमा गनिन्छन् । पार्टीभित्र नवनियुक्त मन्त्रीमण्डल पूर्नगठन, राजदुतहरु नियुक्ति र कर्णाली प्रदेशको मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता लगायतका कारण फेरि पनि पार्टी भित्र कलह देखा परेको छ । दशैपछि यो विवाद नेकपाभित्र फेरि वल्झिने देखा परेपछि राष्ट्रपति भण्डारी नेकपाभित्रको अन्तरकलहमा पनि चासो र चिन्ता देखाउदै आउने भित्र पर्छिन् ।

ओलीको अप्ठ्यारो र गाह्रो साह्रोमा उनले सहयोगीको भूमिका निर्वाह गर्दै आएकी छिन् । उनले सरकारका मन्त्रीहरुलाई बेलाबेला बोलाएर चासो लिने गर्छिन् । त्यही क्रममा अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई बोलाएर उनले हिजो छलफल गरेकी हुन् । अर्थमन्त्री पौडेलसँग उनले अर्थब्यवस्था, कोभिड पछिको अर्थतन्त्र र सरकारको अबको योजनामा केन्द्रीत रहेर कुराकानी गरेको शितल निवास स्रोतले बताएको छ ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टसँग चाडवाड र कोभिडका कारण आपूर्ती ब्यवस्था के कस्तो अवस्था छ ? भन्ने विषयमा जानकारी लिएकी शितल निवास स्रोतले बताएको छ । तर यी दुवै भेटघाटमा राष्ट्रपति भण्डारीले सत्तासिन दल नेकपाभित्रको फेरि शुरु हुन सक्ने किचलो र त्यसको ब्यवस्थापनमा प्रधानमन्त्रीको गाह्रोसाह्रो फुकाउन खेल्नुपर्ने भूमिका र पार्टीको आसन्न महाधिवेशन सम्ममा केन्द्रीत रहेर छलफल गरेको स्रोतको दाबी छ । उनले केही दिनमै अन्य केही मन्त्रीलाई पनि बोलाएर छलफल गर्ने तयारी गरेकी छिन् ।