यसकारण हुन्छ ग्याँस विस्फोट...

पत्रपत्रिकाबाट

शुक्रबार, ३० असोज २०७७, ०७ : ५०
यसकारण हुन्छ ग्याँस विस्फोट...

काठमाडौं । प्रयोगविधिमा कमजोरी र सचेतना तथा परीक्षण अभावले ग्यास सिलिन्डर दुर्घटना हुने गरेको छ । जानकारका अनुसार अधिकांश उद्योगले ग्यास सिलिन्डरको हाइड्रोलिक परीक्षण बेलैमा गर्दैनन् ।

‘नेपाल गुणस्तर ऐनअनुसार सिलिन्डर पाताको मोटाइ २.९ मिलिमिटर (एमएम) हुनुपर्छ, तर निरीक्षण गर्दा १.८ एमएमसम्म भेटिन्छन्, पाता पातलो हुँदा विस्फोट हुने गरेको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘उद्योगीले पर्याप्त परीक्षणबिनै सिलिन्डर बजार पठाएका छन् ।’

बजारमा रेगुलेटर र ग्यास पाइप पनि कमसल पाइन्छ तर त्यसको अनुगमन हुँदैन । ‘सिलिन्डर र रेगुलेटरको गुणस्तरबारे गुणस्तर तथा नापतौल विभागले हेर्नुपर्ने हो,’ महर्जनले भने । ग्यास, रेगुलेटर र पाइपको निरीक्षण गर्ने दायित्व आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको पनि हो । रेगुलेटर र पाइपको उत्पादन स्वदेशमा मात्र हुँदैन, पर्याप्त मात्रामा आयात पनि गरिन्छ । धेरैजसोले गुणस्तरको मापदण्ड पालना गर्दैनन् ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले गुणस्तर चिह्न (एनएस) अन्तर्गत गुणस्तर विभागले नै निरीक्षण गर्नुपर्ने बताए । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्यास उद्योगको अनुगमन भइरहेको दाबी गरे । ‘कोभिड संक्रमण र लकडाउनका कारण बीचमा त्यति अनुगमन गर्न सकेका छैनौं ।

तौलको हकमा छिटफुट अनुगमन भइरहेकै छ,’ उनले भने । पछिल्लो समय एनएस चिह्न अनिवार्य भएकाले उद्योगबाट त्यति हेलचेक्य्राइँ नभएको उनले दाबी गरे । विभागका अनुसार धेरैजसो दुर्घटना रेगुलेटर भल्भबाटै हुने गरेको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस