तुहिँदैं कर्णाली प्रदेश मुख्यमन्त्री शाही विरुद्दको अविश्वास प्रस्ताव

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका ५ र पूर्व माओवादी समुहका २ जनाले अविश्वास प्रस्ताव फिर्ता लिने भएपछि अविश्वास प्रस्ताव तुहिन लागेको छ

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, ०९ : ०७
तुहिँदैं कर्णाली प्रदेश मुख्यमन्त्री शाही विरुद्दको अविश्वास प्रस्ताव

काठमाडौं । पार्टी केन्द्रमा आन्तरिक विवाद समाधान तिर जादैं गर्दा एकाएक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दल कार्यालयमा दर्ता भएपछि विवाद नयाँ शिराबाट देखा परेको थियो । बहुमत सदस्यहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री शाही विरुद्द अविश्वास प्रस्ताव दर्ता गराएपछि विवादले नयाँ रुप लिएको हो ।

यद्यपी, यो विवाद बढ्दै जाँदा मुख्यमन्त्री शाहीले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाह लाई पदमुक्त गरी उनको स्थानमा सीता नेपालीलाई जिम्मेवारी दिएका छन् । यसले प्रदेश स्तरमा विवाद झन उग्र बन्दै जान थालेको देखिएपनि केन्द्रीय राजनीतिमा शीर्ष नेताहरुको बाक्लिदो भेटघाटले मुख्यमन्त्री विरुद्दको अविश्वास प्रस्ताव तुहिने सम्भावना बढेर गएको छ ।

मुख्यमन्त्री विरुद्ध अविश्वासमा बहुमत पुग्न १७ नेकपा संसद एकातिर हुनुपर्छ । शाही विरुद्ध १८ सांसदले हस्ताक्षर गरेका थिए । तर केन्द्रमा कर्णालीको अविश्वास प्रस्तावले तरंग ल्याईदिएपछि सोमबार दिनभरका भेटघाट र अहिले बिहान शुरु भएको भेटवार्ताले मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्तावमा केन्द्रले हस्तक्षेप बढाउने तयारी गरेको छ ।

वरिष्ठ नेता माधव नेपालले मुख्यमन्त्रीको कार्यशैलीगत समस्याका कारण कर्णालीमा सांकेतिक विद्रोह भएपनि अविश्वास प्रस्ताव राख्ने कुरा बेठिक भएको धारणा आएपछि नेपाल पक्ष अविश्वासको प्रस्तावबाट पछाडी फर्किने सम्भावना बढेर गएको छ । कर्णाली प्रदेशमा रहेका नेपाल समुहका ८ मध्ये ७ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेका मध्ये ५ जना अहिले अविश्वास प्रस्तावबाट पछाडी फर्किने गरि तयार भईसकेका छन् ।

सोमबार अध्यक्ष प्रचण्डसँग खुमलटारमा नेपाल र उनी निकट नेताहरु सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र निरज आचार्यले भेट गरेका थिए । त्यही नेपालले अविश्वास प्रस्ताव बेठिक समयमा आएको बताएका थिए । त्यहीबाट उनले जाजरकोट घर भएका केन्द्रीय सदस्य निरज आचार्यलाई आफु निकट सांसदहरु र मुख्यमन्त्री शाही लगायतका बीचमा समन्वयात्मक भूमिका निर्वाह गरि सकारात्मक वातावरण निर्माणका लागि सहजीकरण गर्न खटाएका छन् । प्रचण्ड भेटेलगत्तै आचार्य हिजो सोमबार नै सुर्खेत पुगेर नेताहरुसँगको परामर्शमा जुटिसकेका छन् ।

त्यस्तै पूर्व माओवादी धारका हस्ताक्षर गरेका ३ जनालाई नै अविश्वास प्रस्तावबाट पछि हट्न पार्टीका प्रदेश इन्चार्ज जर्नादन शर्माले निर्देशन गरिसकेका छन् । जसमध्ये दुई जनाले फिर्ता लिने तयारी गरिसकेका छन् । धर्मराज रेग्मीले भने फिर्ता नलिने बताईरहेका छन् । उनी चुनावी मुखमा मात्रै माओवादीमा प्रवेश गरेर टिकट उछ्टिाउन सफल भएका नेता हुन् । रेग्मी अविश्वास प्रस्तावको अगुवाई गरेका यमलाल कँडेलका नातेदार पनि पर्छन् ।

प्रधानमन्त्री ओलीले समेत अविश्वास प्रस्ताव दर्ता भएपछि मात्र थाहा पाएको र फिर्ता लिन आग्रह गर्दा पनि असन्तुष्ट नेताहरुले नमानेको सोमबार प्रचण्डसँगको छलफलमा बताएका थिए । साँझ उनले मन्त्रिपरिषद्को बैठकमा पनि आफुलाई जानकारी नदिई अविश्वास प्रस्ताव राखेकोमा असन्तुष्टि जनाएका थिए । 

जर्नादन शर्मालाई बोलाइयो बालुवाटार
कर्णालीको विवाद मिलाउन प्रधानमन्त्री ओलीले प्रदेश इन्चार्ज जर्नादन शर्मालाई बालुवाटार बोलाएका छन् । हिजो दिनभर शर्मा अध्यक्ष प्रचण्डसँगको छलफलमा दुई पटक बसेका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले छलफलका लागि अहिले उनलाई बालुवाटार बोलाएका छन् । बालुवाटार जानु अगाडी उनले अध्यक्ष प्रचण्डसँग पनि खुमलटार पुगेर छलफल गरेका छन् । प्रचण्डसँग छलफल गरेर शर्मा प्रधानमन्त्रीसँगको भेटका लागि बालुवाटार पुगेका छन् । 
 

प्रतिक्रिया दिनुहोस