बस चलेपनि सिट खाली, मारमा परे व्यवसायी यसपालि

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, १७ : ०१
बस चलेपनि सिट खाली, मारमा परे व्यवसायी यसपालि

फाइल फोटो

चितवन । लकडाउन र निषेधाज्ञाका कारण ६ महिनाभन्दा बढी समय थन्केर बसेका लामो दुरी तथा छोटो दुरीका बस, माइक्रो, म्याजिकलगायतका सवारी साधनहरु केही दिनदेखि सडकमा गुड्न थालेका छन् । बस त सडकमा गुडे, तर बसभित्र यात्रु नै छैनन् । एकाध यात्रुलाई लिएर बसहरु सडकमा गुडाउन बाध्य छन् व्यवसायीहरु । 

सडकमा गुड्न थालेका बसहरुमा यात्रु न्यून देखिन्छन् । तर पनि यातायात व्यवसायीहरु आशैआशमा सिट पूरा खाली भएपनि सडकमा बसहरु गुडाइरहेका छन् । लामो समय मारमा परेका यातायात व्यवसायीहरु बस चलाउने अनुमति पाउँदा जति फुरुङ्ग भएका थिए, त्यति नै अहिले यात्रु नपाउँदा निराश भएका छन् । 

‘बस त चलाइयो, तर यात्रु चढेका छैनन्’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले भने, ‘बसमा पूर्णरुपमा कोरोनाप्रति सावधानी अपनाएपनि यात्रुहरु यात्रा गर्न डराइरहेका छन् ।’ उनका अनुसार यात्रुको भाडाबाट तेल खर्चसमेत उठाउन सकिरहेका छैनन् । 

केन्द्रीय उपाध्यक्ष सुवेदीले भने, ‘यसपालि यातायात व्यवसायीहरु ठूलो मारमा परेका छन्, ६ महिनाभन्दा बढी समय सवारी साधनमा खिया लाग्यो, बल्लबल्ल गाडीहरु चल्न थालेपनि यात्रु नपाएर व्यवसायी हैरान भएका छन् ।’

मुक्तिनगर यातायात प्रालिका अध्यक्ष लक्ष्मणप्रसाद भट्टराईले यातायातका सवारी साधन चलेपनि यात्रु नपाउँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्छन् । उनी भन्छन्, ‘सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि यात्रु नपाउँदा व्यवसायीहरु निराश नै देखिएका छन् ।’  

उनको भनाइअनुसार बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मानिरहेका छन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण अझै नमिलेको उनी बताउँछन् । सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु हालेर सेवा दिन सरकारले भनेपनि ५० प्रतिशत यात्रु नै चढाउन नपाएको व्यवसायी बताउँछन् ।  

कोरोना कहरमा यातायात व्यवसायी नराम्ररी प्रभावित भएका छन् । खुले पनि यात्रु नपाउँदा गाडीको किस्तादेखि जीवन गुजारा गर्नसम्म व्यवसायीहरुलाई मुस्किल भएको छ । 

छ महिना लामो लकडाउन खुलेपनि सवारी साधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता छ । यात्रु नै नपाएपछि चलाएर पनि केही सहज नभएको व्यवसायीहरु बताउँछन् । 

यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका बसका चालक र सहचालक पनि यात्रु नपाउँदा भने निराश छन् । यस्तै लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्ने यातायात माग छ । 

चितवनको केन्द्रीय बसपार्क भरतपुर, पोखरा बसपार्कहरुमा यात्रुको कुनै चहलपहल देखिँदैन । चितवनको पश्चिम क्षेत्र माडी, चनौली, मेघौली जाने बसहरुमा पनि यात्रु निकै कम छन् । बसका चालक कमल खड्काले भने, ‘बसहरु त चलाउन सुरु गरिएको छ, तर यात्रु नै छैनन् । यात्रु नभएपनि बस गुडाइरहेका छौँ ।’ 

उनको अनुभवमा सबै सावधानी अपनाउँदा पनि यात्रुहरु बस चढ्न डराइरहेका छन् । ठूलो आपत नपरेसम्म यात्रुहरु बस चढ्न खोज्दैनन् । कोरोनाको कहर बढिरहेको हुँदा सकेसम्म यात्रुहरु यात्रा गर्न नचाहेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस