त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०८२, २१ : ००
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस

चितवन । सिमलताल क्षेत्रमा आएको लेदोसहितको पहिरोका कारण त्रिशूली नदीमा बगेर बेपत्ता भएको एक बसको अवशेष निकाल्ने प्रयास निरन्तर १२ दिनसम्म पनि प्रभावकारी हुन नसकेपछि सम्बन्धित दुई जिल्लाको सुरक्षा संयन्त्रले उद्धार कार्यको समीक्षा गर्दै वैकल्पिक कार्ययोजना तय गरेको छ।

चितवन र तनहुँका सुरक्षा प्रमुख, प्राविधिक विज्ञ तथा सरोकारवाला निकायको सहभागितामा बसेको संयुक्त बैठकले हालसम्मको उत्खनन प्रक्रिया अपेक्षित परिणाम दिन नसकेको निष्कर्ष निकालेको हो। बैठकमा अवशेष निकाल्ने कार्यलाई निरन्तरता दिन दुई सम्भावित उपायमा सहमति जुटाइएको छ।

चितवन प्रशासनका अनुसार पहिलो चरणमा उद्धार टोलीको सिफारिसअनुसार आवश्यक उपकरण थप गर्ने निर्णय गरिएको छ। यसअनुसार थप दुई वटा पुलर प्रयोगमा ल्याई बस बाहिर निकाल्ने प्रयास गरिनेछ।

यदि उक्त प्रयासबाट पनि भोलि दिनभरि प्रगति हुन नसकेमा दोस्रो विकल्पका रूपमा बसका बाहिर निस्किएका भागहरू काटेर क्रमशः हटाउँदै सम्भव भएसम्म उत्खनन र सफाइ गर्ने योजना बनाइएको छ। यी बाहेक अन्य कुनै व्यावहारिक उपाय नदेखिएकाले निर्धारित प्रयासपछि पनि सफल नभए उत्खनन कार्य त्यही चरणमा रोक्ने निर्णय गरिएको छ।

उक्त बस २०८१ साल असार महिनामा सिमलताल क्षेत्रबाट त्रिशूलीमा बगेर बेपत्ता भएको थियो। करिब डेढ वर्षपछि पुस २७ गते घटनास्थलभन्दा करिब ३०० मिटर तल तनहुँतर्फ बालुवाले पुरिएको अवस्थामा अवशेष फेला परेको थियो। त्यसयता चितवन र तनहुँ दुवैतर्फका सुरक्षाकर्मीले संयुक्त रूपमा अवशेष निकाल्ने प्रयास जारी राख्दै आएका छन्।

उल्लेखनीय छ, उक्त दुर्घटनामा दुई वटा बस त्रिशूलीमा बेपत्ता हुँदा अधिकांश यात्रु सम्पर्कविहीन भएका थिए। हालसम्म २४ जनाको शव मात्र फेला परेको छ। सरकारले घटनामा बेपत्ता भएका व्यक्तिलाई मृतकसरह मानी क्षतिपूर्ति उपलब्ध गराइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस