अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !

पत्रपत्रिकाबाट

सोमबार, १२ असोज २०७७, ०७ : ३५
अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !

बझाङ । सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ । गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए ।उनका अनुसार बोहराले गत साउन २६ मा खिकालाकै १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको घटनालाई गाउँमै गुपचुप मिलाइएको खुलेको हो । साँझ ५ बजेतिर धनचडी बोहराको पानीघट्टमा अन्न पिस्न पुगेकी बालिकालाई जबर्जस्ती करणी गरेको बारे आइतबार मात्रै जाहेरी आएको डीएसपी खड्काले बताए ।

५ कक्षामा पढ्ने ती बालिकाले तीन दिनपछि मात्रै घटनाबारे आफ्नी भाउजूलाई सुनाएकी थिइन् । त्यसपछि परिवारले पञ्चायती बसालेका थिए । पञ्चायतीमा ‘एकै गाउँका भाइबहिनी हुन्, यत्तिको घटना भइहाल्छ’ भन्दै पाँच सय जरिवाना गराएर घटना गाउँमै सामसुम पारेका थिए । दुवै पक्षबीच भएको मिलापत्रमा राजेन्द्रका बुवा र बालिकाका दाजुसहित ६ जनाले हस्ताक्षर गरेका छन् । मिलापत्रमा ‘गर्भ रहेमा युवकले जिम्मा लिने’ व्यहोरा उल्लेख छ ।

चरेस, मदिराजस्ता नशालु पदार्थ सेवन गर्ने, एक्लै हिँडडुल गर्न रुचाउने बोहरा यसअघि थुप्रै चोरी र लुटपाटका घटनामा संलग्न रहेको स्थानीय बताउँछन् । उनले महिला र बालिकाहरूले लगाएका गहना खोस्ने, घर तथा पसलमा चोरी गर्ने दर्जनौं घटना गाउँमै मिलाइएको खिकालाकै अर्जुन बोहराले बताए । ‘उसको समूहमा एक–दुई जना अरू पनि थिए,’ उनले भने, ‘मान्छे नभएको मौका पारेर सुटुक्क गाउँलेका घरमा पस्ने र चोर्ने गर्न थालेको तीन वर्षजति भयो ।’

सम्झनाको बलात्कारपछि हत्या स् पोस्टमार्टम रिपोर्ट
सम्झनाको बलात्कार र हत्या भएको ठाउँ भन्दा ५ सय मिटर पर गत मंसिरमा ११ वर्षका बालक विमल कामी मृत भेटिएका थिए । शव फेला पर्दा उनको एउटा कानको मुन्द्रा थिएन । त्यसबेला गाउँमै रहेका राजेन्द्र बोहरा उक्त घटनालगत्तै भारत गए । फर्केर आएपछि गाउँका बालबालिकालाई तर्साउन थाले । उनीहरूका साथमा हुने पैसा र सामान खोस्दै ‘विमललाई मैले मारेको हुँ, तिमीहरूले पैसा दिएनौ भने मारिदिन्छु’ भन्ने गरेको विमलका बाजे टसी कामी बताउँछन् ।

उक्त घटनाबारे भने प्रहरीलाई जानकारी नआएको डीएसपी खड्काले बताए । ‘एक जना बच्चा रूखबाट लडेर ढुंगामा ठोक्किएर मृत्यु भएको भन्नेसम्म हामीले थाहा पायौं,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस