‘बस त चले, यात्रु चढेनन्’

रासस

आइतबार, ११ असोज २०७७, १५ : १८
‘बस त चले, यात्रु चढेनन्’

महेन्द्रनगर । यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि  यहाँका व्यवसायी निराश नै देखिएका छन् ।

“बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन् ।” उनले भने, “सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न नसक्ने अववस्था छ ।”

उनले भाडामा डेढ गुना वृद्धि गरेर यातायात सञ्चालन गर्न भने पनि व्यवसायी मारमै रहेका  र  बैंकको किस्ता तिर्न समस्या परेको  बताउनुभयो । उनले भने,“यस्तै अवस्था रहे व्यवयासीले पलायन हुनुपर्ने अवस्था छ । कोरोना कहरमा यातायात व्यवसायी नराम्ररी प्रभावित भएका छन् ।” 

यहाँबाट चल्ने लामो मात्रै नभई छोटो दूरीका सवारीधनी पनि यात्रु नआउँदा मारमा परेका छन् । “छ महिना लामो लकडाउन खुलेपनि सवारी साधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता छ ।”  व्यवसायी करनसिंह साउदले भने, “यात्रु नै नपाएपछि चलाएर पनि केही सहजल होला जस्तो छैन ।”

यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका बसका चालक र सहचालक पनि यात्रु नपाउँदा भने निराश छन् । यस्तै लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्ने यातायात व्यवसायीको माग छ । “सबै क्षेत्र सञ्चालनमा आएपछि मात्रै यातायात सञ्चालन गरेको औचित्य पूरा हुने देखिन्छ ।” उनले भने, “ अहिले त सडकमा घाटामा गाडी गुडाउनुपरेको छ ।”

उनले यातायात व्यवसायीलाई बैंकको ब्याज मिनाह गरेर सहयोग गर्न सरकारसित आग्रह गरे । त्यसैगरी अर्का यातायात व्यवसायी जनकराज भट्टले सञ्चालन भएको यातायातलाई पनि थप व्यवस्थित गर्नुपर्ने बताउनुभयो । “यातायात नचल्दा यसक्षेत्रका मजदुरहरु पनि मारमा परे ।” उनले भने, “विपन्न र गरिबलाई स्थानीय सरकारले राहत दिएपनि यातायात मजदूर कसैको नजरमा परेनन् ।”