नेकपाको सचिवालय बैठक आजै सक्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, ०९ : ४२
नेकपाको सचिवालय बैठक आजै सक्ने तयारी

काठमाडौं । सत्तारुढ दल नेकपाले गत स्थायी समिति बैठकले दिएको म्यान्डेट अनुसारको पार्टी कार्ययोजना बनाउन बोलाईएको सचिवालय बैठक आजै सक्ने तयारी गरेको छ । स्थायी समितिले मन्त्रिपरिषद् पूर्नगठन, राजनीतिक नियुक्तिहरुमा पार्टीको संस्थागत निर्णय, पार्टी एकताका बाँकी काम र महाधिवेशन लक्षित कार्यक्रम बनाएर अगाडी बढ्ने गरी प्रस्ताव पारित गरेको थियो ।

त्यही प्रस्तावमा उल्लेखित विषयलाई ब्यवहारिक रुप दिन आइतबार देखि नेकपा सचिवालय बैठक जारी छ । हिजो एक दिन स्थगित भएको बैठक आज पूनः मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको छ । बैठकमा मन्त्रिपरिषद् पूर्नगठन, राजनीतिक तथा सम्वैधानिक नियुक्तिहरुबारे सुझाव, संगठनात्मक काम र विविध शीर्षकका चार वटा एजेण्डा बैठकमा प्रस्तुत भएका छन् । जसमध्ये पहिलो एजेण्डामा भने नेकपाका नेताहरुले आइतबार छलफल एकसरो गरिसकेका छन् ।

यसैमा आज पनि थप छलफल गरेर दुई अध्यक्षलाई केही नीतिगत मान्यता र मापदण्डमा रहेर निर्णय लिन सुझाउने देखि राजनीतिक र सम्वैधानिक नियुक्ति लगायतका विषयमा सुझाव दिने तयारी छ । केही महत्वपूर्ण संगठनात्मक एकताका बाँकी काम टुंग्याउने पर्नेमा टुंगो लगाउने र पार्टी नेताहरु जो नियमित जिविकोपार्जनमा समेत अप्ठयारो अवस्थामा छन्, उनीहरुको भरणपोषणको ब्यवस्था गर्ने र केही रिक्त पदहरुको पदपूर्ति गर्ने सम्मका कार्ययोजनामा थप निर्णय गर्दै बैठक आजै सक्ने तयारी दुई अध्यक्षको छ ।

यही तयारीका साथ हिजो दुई अध्यक्षले प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ढेड घण्टा छलफल गरेका थिए । त्यही छलफलका आधारमा ओली र प्रचण्डले आज मन्त्रिमण्डल पूर्नगठन र राजनीतिक सम्बैधानिक नियुक्तिमा सचिवालय सदस्यहरुको सुझाव लिएर र केही महत्वपूर्ण निर्णय गरेर बैठक सक्ने योजना बनेको स्रोतको भनाई छ ।

नीतिगत रुपमा सचिवालय सदस्यले दिने सुझाव र मापदण्डमा टेकेर त्यसपछि ओली प्रचण्डले थप एकचरण छलफल गरेपछि मन्त्रिमण्डल पूर्नगठनको बाटोमा नेकपा अगाडी बढ्ने नेताहरुको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस