पेरिसडाँडा जालान् त प्रधानमन्त्री केपी ओली ? आइतबारलाई स¥यो नेकपा सचिवालय बैठक

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, ०८ : ४१
पेरिसडाँडा जालान् त प्रधानमन्त्री केपी ओली ? आइतबारलाई स¥यो नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपाका सचिवालय बैठक सरेको छ । आजका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाईएको बैठक दुई दिन पछि आइतबार सम्मलाई सारिएको छ । ’प्रधानमन्त्री ओलीको कार्यब्यस्तता देखाउदै बैठक सारिएको छ । संविधान दिवसका कार्यक्रममा प्रधानमन्त्री लाग्नु पर्ने भएको र तयारी नपुगेकोले बैठक दुई दिन पछि सार्ने सूचना आएको छ,‘– सचिवालयका एक सदस्यले सफलखबरसँग भने । 

अब बैठक ४ असोजमा ११ बजे नै पेरिसडाँडामै बस्नेछ । ३० महिनासम्म पार्टी केन्द्रको कुनै औपचारिक बैठक नबसेको र कोरोना कहरमा सामाजिक दुरी कायम गरेर बैठक स्थल बनाउनु पर्ने भएकोले सचिवालय बैठकको तयारी कोटेश्वरमा हिजो दिनभर गरिएको थियो ।  सिट ब्यवस्थापन गर्ने देखि सुरक्षाका लागि सुरक्षा ब्यवस्था बलियो बनाउने सम्मका काम हिजोबाटै शुरु गरिएको थियो ।

प्रधानमन्त्री समेत बैठकमा सहभागी हुने भएकोले बैठकको सुरक्षाका लागि बालुवाटारबाटै ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले हिजै देखि पेरिसडाडाको कार्यालयमै अड्डा जमाएका थिए । पेरिसडाँडाको माथिल्लो तलमा रहेको हललाई बैठक कक्ष बनाउने गरी तयारी भएको थियो । अब बैठक दुई दिन सरेपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितीलाई केही कम गरिएको छ ।  
 
पेरिसडाँडा जालान् त प्रधानमन्त्री ओली ?
सत्तारुढ दल नेकपाका दुई तिर केन्द्रीय मुकाम छन्, एउटा धुम्बाराहीमा, अर्काे कोटेश्वर पेरिसडाँडामा । धुम्बाराहीको पार्टी केन्द्रीय कार्यालय भाडामा छ । कोटेश्वरको केन्द्रीय कार्यालय आफ्नै हो । तर भाडाको घरलाई केन्द्रीय कार्यालय र आफ्नै पार्टी भवनलाई जनवर्गीय संगठनको कार्यालयका रुपमा नेकपाले छुटटाएको छ । २०७५ जेठ ३ को तत्कालिन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता पूर्वसम्म धुम्बाराहीको कार्यलय एमाले र कोटेश्वर पेरिसडाँडाको कार्यालय माओवादी केन्द्रले प्रयोग गर्थे । 

एकतापछि दुवैतिर कार्यालय राख्ने गरी पार्टीका जोर पाइलट घोषणा गरिएका अध्यक्षद्दय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दुवै तिर कार्यकक्ष बनाइए । पदभार ग्रहण गर्न दुबै तिरका कार्यालयमा नेताहरु एकै दिन पुगे पनि । त्यसपछि भने प्रधानमन्त्री समेत रहेका ओलीले पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडाको कार्यालयमा पाइला समेत टेकेका छैनन् । 

धुम्बाराही स्थित कार्यालयमा आक्कलझुक्कल पुग्ने गरेपनि ओलीले पार्टीका अधिकाशं बैठकहरु सरकारी मुकाम बालुवाटारमै राखेर चलाउन थाले । जनस्तरमा पार्टी बैठकको अखडा बालुवाटारलाई बनाईएको भन्दै निक्कै आलोचना पनि भयो । तर पनि ओलीकै सहजताका लागि भन्दै घर झगडा गर्दा पनि बालुवाटार नै रोजियो, विवाद मिलाउदा पनि बालुवाटार नै रोजियो र बैठकहरु पनि बालुवाटारमै बस्दै आए । 

तर जब २६ भदौंलाई नेताहरुले पूराना विवाद अन्त्य गर्ने निश्चित दिनको रुपमा घोषणा गर्दै अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता, सञ्चालन, निर्णयको कार्यान्वयन र समग्र पार्टी काम गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मा तोकियो र ओलीलाई सरकार सञ्चालनको जिम्मेवारी बाँडियो, त्यसपछि भने नेकपाको सचिवालय बैठक पहिलो पटक पार्टीको जनवर्गीय संगठनको कार्यालयका रुपमा रहेको कोटेश्वर पेरिसडाँडामा बस्न खोज्दैछ ।

आज बोलाईएकौ बैठक ४ असोज सम्मलाई सारेपनि पेरिसडाँडामै बस्ने भनिएको छ । एमाले माओवादी बीचको एकतापछि पेरिसडाँडामा पार्टी केन्द्रको पहिलो बैठक बस्न लागेको हो । यसका लागि पेरिसडाँडाका केन्द्रीय कार्यालयको माथिल्लो तलाको हलमा बैठक राख्ने तयारी भएको छ । अब प्रश्न उठेको छ, कहिल्यै कोटेश्वर पेरिसडाँडामा जान नरुचाउने ओली आज पार्टी बैठकका लागि बालुवाटार र धुम्बाराही छोडेर पेरिसडाँडा जालान् ? नेकपाभित्रै प्रश्न उठ्ेको छ । 

नेकपाका पूर्व माओवादी धारका एक स्थायी समिति सदस्य भन्छन्, –’प्रधानमन्त्री ओली पेरिसडाँडा जान्छन् की जादैनन, उहाँको परिक्षा हुदैंछ ।‘
तर प्रधानमन्त्रीका एक सल्लाहकारले ओली पेरिसडाँडाको पार्टी बैठकमा जाने बताएका छन् । ’दुई अध्यक्षबीचको छलफलकै आधारमा पार्टी बैठकको मिति र स्थान तोकिएको हो, त्यसकारण उहाँ (प्रधानमन्त्री) नजाने भन्ने नै हुदैन, जानुहुन्छ,‘– प्रधानमन्त्री ओलीका एक सल्लाहकारले भने । 
धुम्बाराहीको पार्टी कार्यालय मर्मत सम्हारकै क्रममा रहेको र धुम्बाराही कार्यालयको तल्लो तलामा बैठक राख्ने हल गुम्म परेर गुम्सिने खालको रहेकोले बैठक पेरिसडाँडामा राख्न लागिएकोले उहाँ नजाने भन्ने नभएको ति सल्लाहकारको भनाई छ । शुक्रबारको बैठक एकाएक दुई दिन पछि सारिएका कारण अझैं पनि ओलीको पेरिसडाँडा बैठकमा जाने नजाने विषयमा भन्न नसकिने नेताहरु नै बताउँछन् । 

प्रतिक्रिया दिनुहोस