प्रचण्ड–माधव नेपाल बिच भेटवार्ता : के भयो कुराकानी ?

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, ११ : २४
प्रचण्ड–माधव नेपाल बिच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल बीच भेटवार्ता भएको छ । बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा दुई नेता बिच झण्डै एक घण्टा भेटवार्ता भएको नेपाल निकट स्रोतले बताएको छ ।

भोलि शुक्रबार पार्टीको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पोरिसडाँडामा बोलाईएको सचिवालय बैठकका एजेण्डा र दुई अध्यक्षका बीचमा पार्टी स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका विषयमा केन्द्रीत रहेर दुई नेताका बीचमा छलफल भएको हो । 

नेकपाले भोलि बस्ने सचिवालय बैठकमा मन्त्रिपरिषद्को पूर्नगठन, सम्बैधानिक नियुक्तिहरुका विषयमा सुझाव लिने र पार्टीको बाँकी रहेका एकता प्रक्रियाहरुका विषयको टुंगो लगाउने विषय एजेण्डाका रुपमा छन् । ‘उहाँहरु (प्रचण्ड र माधव नेपाल) बीचको छलफलमा भोलि बिहान बोलाईएको सचिवालय बैठकका एजेण्डा, आज प्रतिपक्ष काँग्रेससँग समेत छलफल हुन लागेको सम्बैधानिक नियुक्ति, पार्टी निर्णय कार्यान्वयन लगायतका विषयमा केन्द्रीत रहेर कुराकानी भएको छ,’– नेपाल निकट स्रोतले भन्यो । 

नेपालले प्रचण्डसँगको छलफलको क्रममा वामदेव गौतमको राष्ट्रिय सभा सदस्य मनोनयनका निम्क्ति मन्त्रिपरिषद् बैठकले निर्णय गर्दा सम्म किन सिफारिस राष्ट्रपति कार्यालय नपुगेको भन्दै यस विषयमा पनि सामान्य छलफल गरेका थिए ।

त्यस्तै निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारका रुपमा नियुक्त गर्ने सम्मका निर्णयमा पार्टी अध्यक्षद्दयका बीचमा सम्वाद भए नभएको विषयमा पनि नेपालले प्रचण्डसँग जिज्ञासा राखेको स्रोत बताउँछ ।

‘वरिष्ठ नेता नेपालले डा. युवराज खतिवडाको नियुक्तिका विषयमा छलफल प्रधानमन्त्रीले प्रचण्ड कमरेडसँग गरे नगरेको विषयमा पनि जिज्ञासा राख्नुभएको थियो,’– नेपाल निकट स्रोतले सफलखबरसँग भन्यो, –‘प्रचण्ड कमरेडले ओलीले खतिवडालाई आर्थिक सल्लाहकार बनाउँदैछु सम्म भनेको तर खास परामर्श नगरिएको जानकारी उहाँ (नेपाल)लाई गराउनु भएको थियो ।’

महत्वपूर्ण सम्बैधानिक तथा राजनीतिक नियुक्तिहरु पार्टीको सचिवालय सदस्यहरुका बिचमा छलफल गर्ने, त्यसपछि दुई अध्यक्षका बीचमा समन्वय गर्ने र आपसी सहमतिमा नियुक्ति लगायतका काम गर्ने समझदारी सहितको प्रस्ताव भदौं २६ को स्थायी समिति बैठकले गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन कतिको हुन्छ भन्ने जीवन ब्यवहारमा दाँज्ने बताईरहेका नेता नेपालले प्रारम्भ देखि नै खबरदारी गर्दै निर्णय कार्यान्वयनमा चनाखो बन्नुपर्ने बताउँदै आएका छन् । प्रचण्डसँगको छलफलमा उनले त्यही विषयमा जोड गरेका थिए ।

पार्टीले नेताका नाममा खोलिएका र पार्टी नेताहरु जोडिएका प्रतिष्ठानहरुका गतिविधि नियन्त्रण र नियमन गर्न कार्यदल बनाउने र त्यसले दिएको सुझावका आधारमा मात्र निर्णय लिने र त्यस अवधीसम्म कुनै गतिविधि नगर्न भनेपनि मदन भण्डारी फाउन्डेसनका नाममा गतिविधि जारी नै राखेको विषयमा पनि दुई नेताका बीचमा सामान्य परामर्श भएको बताईएको छ । 
 

प्रतिक्रिया दिनुहोस