आत्महत्या रोकथाम  दिवस : आत्महत्या रोक्न जनचेतना

रासस

विहीबार, २५ भदौ २०७७, १६ : १४
आत्महत्या रोकथाम  दिवस : आत्महत्या रोक्न जनचेतना

काठमाडौं । आज ‘विश्व आत्महत्या  रोकथाम  दिवस’  नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व  स्वास्थ्य  सङ्गठनले “आत्महत्या  रोकथाममा  सबैको  सहकार्य” भन्ने मूल नारा तय गरेको छ । नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित गैरसरकारी संस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइरहेका छन् । कोरोना भाइरसका कारण मन्त्रालयले भर्चुअल माध्यमबाट जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । 

आफ्नो शरीरको हत्या व्यक्ति स्वयंले गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । मनमा धेरै पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडाबाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोजेको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडाअनुसार विश्वभरमा एक वर्षमा लगभग आठ लाख मानिस वा हरेक ४० सेकेण्डमा विश्वमा कतै कुनै एक मानिसको आत्महत्याको कारण ज्यान गइरहेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसको समयमा २० देखि ३० प्रतिशत बढी आत्महत्या हुने गरेको बताउनुभयो । उहाँले मन्त्रालयले आत्महत्या रोकथाम गर्नका लागि केही नीति ल्याएर लागू गरेकोसमेत बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको अवस्थामा साथीभाइसँग कुराकानी र छलफल गर्ने वातावरण बनाउनसमेत आग्रह गर्नुभयो । 

नेपाल प्रहरीको आर्थिक वर्ष २०६१÷०६२ देखि २०७१÷०७२ सम्म गरी १० वर्षको तथ्याङ्क हेर्दा २९ हजार ९०५ जनाले आत्महत्या गरेको पाइएको छ । २०७५÷०७६ मा पाँच हजार ७५४ जना र २०७६÷०७७ मा ६ हजार २७९ व्यक्तिले आत्महत्या गरेको तथ्याङ्क छ । नेपालमा एक दिनमा करिब १६ देखि १८ जना मानिसको मृत्यु आत्महत्याको कारणले भएको छ । गत चैतदेखि साउनसम्ममा दुई हजार २१८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले आत्महत्या रोक्नका लागि साताव्यापी जनचेतनामूलक कार्यक्रम गरिएको बताउनुभयो । मङ्गलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले आत्महत्या रोक्नका लागि के गर्न सकिन्छ भनेर मनोचिकित्सकसँग छलफलसमेत गर्नुभएको थियो । 

यस्तै महाशाखाले आत्महत्या रोकथामका लागि  नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखासमेत गठन गरिएको छ । उक्त शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले कोभिड–१९ का कारणले भौतिकरूपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट जनचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले आत्महत्याबाट बच्न र आत्महत्याको सोच आउन कम गराउने बारेमा जनचेतना जगाइरहेको जानकारी दिनुभयो । उहाँले आजैदेखि पाटन मानसिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइनसमेत सञ्चालन गर्न थालिएको जानकारी  दिनुभयो । 

पछिल्लो समयमा विश्वमै फैलिएको कोभिड–१९ भाइरसका कारण  आफूलगायत  परिवारका  सदस्यमा  सङ्क्रमित  हुने  र  यसका  कारण  आफूलगायत  परिवारका  सदस्य पनि  मर्नसक्ने  वा  अरू  खालका  स्वास्थ्य  समस्यामा जटिलता आउनेलगायतका भय त्रासले मानिसमा मानसिक स्वास्थ्य समस्या वृद्धि भएको पाइन्छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सरोजप्रसाद ओझाले आत्महत्या रोकथामका लागि सरकारले नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले आत्महत्याका लागि प्रयोग हुने किटनाशक औषधि, डोरी र मादकपदार्थ सजिलै विक्रीवितरण गर्नमा नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । 

कोभिड–१९ का कारणले रोजगारीमा आएको कटौती, व्यापार व्यवसायमा आएको मन्दी, शैक्षिक क्रियाकलापमा  आएको अन्योललगायतका  कारणले  मानिसमा  नकारात्मक सोचाइको विकास हुने गरेको पाइन्छ । 

विभिन्न अनुसन्धानले विश्वमा महामारीका कारण उत्पन्न आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावका कारण रोजगारमा कटौती आई थुप्रै बेरोजगारीको अवस्था हुने र त्यसले आगामी दिन मानसिक स्वास्थ्यका निम्ति त्यति सहज नहुने जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस