अबको अर्थमन्त्री को ? रस्साकस्सीको यस्तो छ इतिवृत्तान्त

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, १५ : ५४
अबको अर्थमन्त्री को ? रस्साकस्सीको यस्तो छ इतिवृत्तान्त

काठमाडौँ । युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् । खतिवडा राष्ट्रिय सभाको सदस्यबाट अर्थमन्त्री बनेका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रियपात्र थिए । राजनीति व्याकराउण्ड नभएको व्यक्तिलाई अर्थमन्त्री बनाइयो भनेर पाटीभित्र र बाहिरबाट प्रधानमन्त्री ओलीको आलोचना हुँदाहुँदै पनि खतिवडाले अर्थमन्त्रीको बागडोर सम्हाल्ने मौका पाएका थिए । 

राष्ट्रिय सभा सदस्यको अवधि सकिएपछि खतिवडा अर्थमन्त्रीबाट राजीनामा दिएकै दिन सरकारी आवासबाट निजी निवास सरेका छन् । उनको ठाउँमा राष्ट्रिय सभाको सदस्यमा पार्टीका सचिवालय सदस्य बामदेव गौतमलाई ल्याउने नेकपा पार्टीले निर्णय गरिसकेको छ । गौतमको राष्ट्रिय सभामार्फत संसदमा इन्ट्री हुने लगभग पक्का भइसकेको छ । 

यतिमात्र होइन, गौतमले सरकारको दोस्रो वरियतासहित अर्थमन्त्रालयको बागडोर सम्हाल्ने गरी सरकारका जाने इच्छा देखाइसकेका छन् । उनले आफू निकटका नेताहरुलाई अर्थमन्त्रालय सहित दोस्रो वरियता लिएर सरकारमा जाने बताइसकेका छन् । प्रधानमन्त्री केपी ओली इतरका पक्षले गौतमलाई दोस्रो वरियताको क्रममा सरकारमा लानको लागि लविङ गर्न थालेका छन् । पार्टी पनि गौतमलाई सरकारमा लैजाने निर्णय गर्ने अन्तिम तयारीमा रहेको स्रोतको भनाइ छ ।  

प्रधानमन्त्री ओलीलाई झड्का 

प्रधानमन्त्री केपी शर्मा ओली डा युवराज खतिवडालाई अर्थमन्त्रीमा कायमै राख्न चाहन्थे । तर ओलीले सोचेजस्तो हुन सकेन । आफ्ना विश्वासिला पात्र खतिवडालाई निरन्तरता दिन नसक्नुलाई ओलीले सहज रुपमा लिएका छैनन् । आफ्नो चाहनाविपरीत पार्टी निर्णय हुँदा ओली झस्केका छन् ।

ओलीले खतिवडाको बर्हिगमनलाई सांकेतिक रूपमा आफूविरुद्धको गतिविधि ठानेका छन् । त्यसमा पनि बामदेव गौतमलाई सरकारका ल्याउनलाई दबाब आउन थालेपछि उनी थप सशंकित बनेका छन् । खतिवडाको बहिर्गमनलाई ओलीले ठूला व्यापारिक स्वार्थ समूहहरू र पार्टीभित्रै शीर्ष नेताले आफूविरुद्ध घेराबन्दी पार्न खोजेको बुझेका छन् । 

खतिवडालाई ओली इतर समूहबाट मात्र होइन नेकपामा योगदान नरहेको भन्दै पार्टीनिकटका अर्थविदहरू र ओलीनिकट केही नेताहरूले पहिलेदेखि रुचाएका थिएनन् । खतिवडाको स्वभाव र शैलीलाई लिएर आलोचना भएकै थियो, तर पनि प्रधानमन्त्री ओलीले काखी च्यापेपछि खतिवडा हालसम्म अर्थमन्त्री हुन पाएका थिए । 

प्रधानमन्त्री आफैँ राख्न चाहन्छन् अर्थमन्त्रालय 

प्रधानमन्त्री केपी शर्मा ओली सकेसम्म आफैँले राख्न चाहेका छन् अर्थमन्त्रालय । खतिवडाको राजीनामासँगै त्यसको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आइसकेको छ । महामारीको बेला अर्थमन्त्रालय सकभर ओली अरुलाई नदिने सोचाइमा छन् । खतिवडालाई आर्थिक सल्लाहकार बनाएर बालुवाटारबाटै अर्थमन्त्रालय चलाउने सोचाइमा छन् प्रधानमन्त्री ओली । तर नेकपा पार्टीले प्रधानमन्त्रीको यस्तो सोचाइलाई नकार्न सक्ने सम्भावना रहेको छ । 

अमेरिकासँगको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज सम्झौता  संसदबाट पारित गर्ने ओलीको चाहना थियो । तर त्यो चाहना तत्काल असफल भएसँगै अमेरिकासँग धेरै तहमा छलफल गरी होल्ड गरिएको छ । एमसीसी होल्ड गर्नमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र डा खतिवडाको योगदान छ । त्यही योगदानलाई उच्च मूल्यांकन गर्दै ओली खतिवडाको उचित व्यवस्थापन गर्न खोज्दैछन् । ओलीले खतिवडालाई आर्थिक सल्लाहकार बनाएर अर्थमन्त्रालय आफैँले लिन खोज्दैछन् तर उनको यो अडानलाई पार्टीले साथ नदिने संकेत देखिएको छ ।

गौतमलाई अर्थमन्त्रालय दिन चाहँदैन ओली सरकार

प्रधानमन्त्री ओली बामदेव गौतमलाई सकेसम्म सरकारमा ल्याउन चाहेका छैनन् । चर्को दबाब झेल्न परेर गौतमलाई सरकारमा ल्याउनै परेको खण्डमा अर्थबाहेक अरु कुनै मन्त्रालय दिने चाहना ओलीको छ । अर्थमन्त्रालय अरु कसैलाई दिन परे ओली आफ्ना विश्वासपात्र नेकपा महासचिव विष्णु पौडेललाई दिने सुरसारमा पनि छन् । 

केही समयपछि प्रधानमन्त्री ओली आफूलाई धेरै गुन लगाउने र पटकपटकको सत्तासंकट टार्नमा सहयोगी भूमिका खेलेका पार्टी महासचिव पौडेललाई अर्थमन्त्रालय दिन सकिने उनले आफू निकटलाई बताइसकेका छन् । सबैसँग मिजासिलो स्वभावका पौडेललाई अर्थमन्त्रालय दिने प्रस्ताव प्रचण्ड–नेपाल समूहबाट पनि स्वीकार्य हुने ओलीको बुझाइ छ । पौडेल आन्तरिक र बाह्य राजनीतिक सन्तुलन मिलाउन सक्ने नेतामा पनि गनिन्छन् । यसअघि अर्थमन्त्रालय चलाएको अनुभव पनि उनीमा छ ।

पौडेल महाधिवेशन र पार्टीकै काममा खटिन चाहेको खण्डमा नेपाल पक्षबाट सुरेन्द्र पाण्डेलाई समेत अर्थमन्त्रालय दिनसक्ने सोचाइमा ओली पुगेका छन् । पाण्डेलाई अर्थमन्त्रालय दिए नेपाल पक्षको साथ रहने ओलीको बुझाइ छ । नेता पाण्डे पछिल्लो समय प्रधानमन्त्री ओलीको खरो आलोचनामा उत्रेका छैनन्, बरु ओलीका केही गतिविधिलाई उनले साथ दिएका छन् । 

बालुवाटारको रणनीति : गौतमलाई टाढा नराख्ने 

बामदेव गौतमलाई धेरै नजिक नराखे पनि टाढा राख्न नसक्ने बाध्यकारी अवस्थामा बालुवाटार छ ।  जतिबेला पनि ‘यू टर्न’ गराएर आफ्नो संकट टार्न सकिने पात्र रहेको चतुर राजनीतिक खेलाडी बामदेवलाई ओलीले नजिकबाट चिनेका छन् । ओलीको सत्तामा जब संकट आउँछ, त्यतिबेला जुनसुकै बेला उनलाई बामदेव चाहिन्छ ।

पछिल्लो पटक बामदेवको छ बुँदे प्रस्ताव ओलीको सत्ता टिकाउमा बुटी बन्यो । त्यसकारण बालुवाटार गौतमलाई धेरै टाढा नराख्ने र धेरै नजिक पनि नल्याउने रणनीतिमा छ । गौतमलाई सकेसम्म सरकारमा नल्याउने, अन्तिम अवस्थामा ल्याउनै परेको खण्डमा सरकार सञ्चालनमै हलचल ल्याउन नसक्ने कुनै मन्त्रालय दिने रणनीति बालुवाटारको छ । 

बालुवाटारका लागि गौतम अहिले पनि ‘पोलिटिकल कार्ड’ हुन्, जसबाट प्रचण्ड र माधव नेपाललाई ‘साइजमा ल्याउने र ब्यालेन्स गर्ने अस्त्र’ बन्न सक्छन् । उनी सरकारमा आए भने सरकार नै असफल हुने डर बालुवाटारलाई छ, त्यसैले सकेसम्म गौतमलाई ओली ल्याउन चाहँदैनन्, तर पार्टीको चर्को दबाब थेग्न सक्ने अवस्थामा ओली छैनन् ।

पार्टीे गौतमलाई सरकारमा ल्याउन चर्को दबाब दिने कसरतमा लागिसकेको छ । एकातिर गौतमलाई छाड्दा समूह कमजोर हुने डर अर्कोतिर  सरकारमा भित्र्याउँदा असफल हुने डरमा बालुवाटार रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस