अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'

सफल खबर संवाददाता

बुधबार, २७ जेठ २०८३, ०९ : ५४
अर्थमन्त्री वाग्लेले किन यस्तो भने :  ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित-पोषित शक्तिले प्रधानमन्त्री र आफूमाथि नियोजित आक्रमण गरिरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले गरिरहेको ठूला वित्तीय अपराधको अनुसन्धानबाट त्रसित समूहले आफूहरूविरुद्ध घेराबन्दी गरेको दाबी गरेका हुन् ।

“नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नमाथि सरकारले छानबिन गरिरहेको छ, केही दिनमा यो विषय अदालत पुग्दैछ,” मन्त्री वाग्लेले भने, “हामीसँग रुष्ट तिनै समूहबाट पालित-पोषित तत्वले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन् ।” उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत र सरकारको सुशासनको अभियान धेरैलाई नपचेकाले यस्तो खेल भइरहेको टिप्पणी गरे ।

सार्वभौम संसद्का सदस्यलाई समेत त्यस्ता समूहको कुराबाट प्रभावित नहुन र लहलहैमा लागेर संसद्को गरिमा कमजोर नबनाउन उनले आग्रह गरेका छन् । “चियाको कपमा तुफान ल्याउन खोजिएको छ, यसलाई म डटेर सामना गर्न तयार छु,” उनले भनेका छन् ।

बजेट वक्तव्यका १६ पाना गायब पारिएको भन्ने मिडिया रिपोर्ट र विपक्षीको आरोपको खण्डन गर्दै अर्थमन्त्री वाग्लेले ४६० पानाको डकुमेन्टमा एउटा पूर्णविराम वा थोप्लो पनि यताउता नपारिएको स्पष्ट पारेका छन् । आम जनतालाई केही समय भ्रममा पार्न यस्तो अफवाह फैलाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस