बालुवाटारमा ओली–प्रचण्ड बीच भेटवार्ता सुरु

कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, १० : १२
बालुवाटारमा ओली–प्रचण्ड बीच भेटवार्ता  सुरु

काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । पार्टी भित्रको आन्तरिक समस्या सल्टाउन सुझाव कार्यदलले आफ्नो रिपोर्ट बुझाएपछि दुई अध्यक्षको यो पहिलो छलफल हो । छलफलका लागि प्रचण्ड पौने १० बजे बालुवाटार छिरेका थिए । 

नेताहरुले हिजै छलफल गर्ने तयारी गरेपनि प्रधानमन्त्री ओलीले आफ्नो कार्यब्यस्तता देखाउदै हिजो तय भएको भेटवार्ताको समयलाई आजका लागि सारिएको थियो । अध्यक्षद्दय ओली र प्रचण्डलाई महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले शनिबार साँझ प्रतिवेदन बुझाएको थियो । त्यसपछि दुई अध्यक्षले हिजो आफु निकट नेताहरुसँग आन्तरिक परामर्श गरेर अहिले छलफलमा जुटेका हुन् । 

कार्यदलले दिएको प्रतिवेदनमा दुवै अध्यक्षले छलफल गरी काँटछाँट गर्ने र त्यसलाई दुई अध्यक्षको प्रस्तावका रुपमा सचिवालय बैठक राखेर पेश गर्ने तयारी ओली र प्रचण्डको छ । दुई अध्यक्षका बीचको आजको छलफलमा कार्यदलको प्रतिवेदनमा पूर्ण सहमति जुटेमा एकाध दिनभित्रै पार्टी सचिवालय बैठक बोलाउने तयारी नेकपाको छ । वरिष्ठ नेता माधव नेपाल आइशोलेसनमा रहेका कारण पनि केही दिन भने सचिवालय बैठक बस्ने नबस्ने भन्ने टुंगो छैन् । 

कोर अफ लिडरसिपको रुपमा समेत रहेको सचिवालयमा छलफल गरेर समझदारी बनाएर ओली र प्रचण्डले साउन १३ देखि अवरुद्ध भईरहेको स्थायी समिति बैठक बोलाउनेछन् । बढीमा २ दिन स्थायी समिति बैठक राखेर प्रतिवेदन पारित गदै स्थायी समिति बैठकलाई विट मार्ने तयारी ओली र प्रचण्डको छ ।  

त्यसपछि भने नेताहरु संघीय सरकार देखि प्रदेश सरकारसम्म पूर्नगठन, हेरफेर तिर लाग्ने भएका छन् । गत वैशाख देखि नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा नेताहरुले माग गरेपछि विवाद बल्झिदै आएको थियो । अहिले ओलीलाई राजीनामा दिन नपर्ने गरी कार्यदलले प्रतिवेदन बुझाएपछि ओलीको सत्ता संकट टरेको छ ।