ध्रुवे हात्तीको दाह्रा फेरि काटिने, नियन्त्रणको तयारी

रासस

बुधबार, २४ असार २०८३, १३ : ०९
ध्रुवे हात्तीको दाह्रा फेरि काटिने, नियन्त्रणको तयारी

चितवन । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो । उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

उक्त हात्तीले गत शनिबार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुर्जा पुनले बताए । उनका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ ।

त्यस हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले मार्ने निर्णय गरेको थियो । विसं २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म आइपुग्दा १५ जनाको ज्यान लिइसकेका थियो । ध्रुवेको घाँटीमा पटक पटक रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने गरिँदै आएको छ ।

निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवेलगायत नाम गरेका जङ्गली भाले हात्ती छन् । निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन हुँदै आएको छ । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा जङ्गली हात्ती छन् । अन्य हात्तीले त्यस क्षेत्रमा दुःख दिएका छैनन् । निकुञ्ज, विपद् व्यवस्थापन समितिलगायतका सरोकारवाला सङ्घसंस्था मिलेर हात्तीले भत्काएपछि आगोसमेत लागेको घर पुनर्निर्माण गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस