नेकपा अध्यक्षद्धय ओली–प्रचण्ड बिच बालुवाटारमा भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १० : ०१
नेकपा अध्यक्षद्धय ओली–प्रचण्ड बिच बालुवाटारमा भेटवार्ता

काठमाडौं । पार्टी भित्रको आन्तरिक समस्या सल्टाउन सुझाव कार्यदलले रिपोर्टमा छलफल गर्न नेकपाका दुई अध्यक्ष छलफलमा जुट्दै छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड अहिले बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा बस्न लागेका हुन् । 

अध्यक्षद्दय ओली र प्रचण्डलाई महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले शनिबार साँझ प्रतिवेदन बुझाएको थियो । त्यसपछि दुई अध्यक्षले हिजो आफु निकट नेताहरुसँग आन्तरिक परामर्श गरेर अहिले बिहान छलफलमा बस्न लागेका हुन् । ओली र प्रचण्डका बीचमा हिजै भेटवार्ता हुने र कार्यदलले दिएको प्रतिवेदनमा आधारित रहेर छलफल गर्ने भनेपनि प्रतिवेदन अध्ययनकै क्रममा रहेको भन्दै छलफल आज बिहानलाई सारिएको थियो । 

कार्यदलले दिएको प्रतिवेदनमा दुवै अध्यक्षले छलफल गरी काँटछाँट गर्ने र त्यसलाई दुई अध्यक्षको प्रस्तावका रुपमा सचिवालय बैठक राखेर पेश गर्ने तयारी ओली र प्रचण्डको छ । दुई अध्यक्षका बीचको आजको छलफलमा कार्यदलको प्रतिवेदनमा पूर्ण सहमति जुटेमा एकाध दिनभित्रै पार्टी सचिवालय बैठक बोलाउने तयारी नेकपाको छ । 

कोर अफ लिडरसिपको रुपमा समेत रहेको सचिवालयमा छलफल गरेर समझदारी बनाएर ओली र प्रचण्डले साउन १३ देखि अवरुद्ध भईरहेको स्थायी समिति बैठक बोलाउने छन् । बढीमा २ दिन स्थायी समिति बैठक राखेर प्रतिवेदन पारित गर्दै स्थायी समिति बैठकलाई बिट मार्ने तयारी ओली प्रचण्डको छ ।

 त्यसपछि भने नेताहरु संघीय सरकार देखि प्रदेश सरकारसम्म पूर्नगठन, हेरफेर तिर लाग्ने भएका छन् । गत वैशाख देखि नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा नेताहरुले माग गरेपछि बिबाद बल्झिदै आएको थियो । अहिले ओलीलाई राजीनामा दिन नपर्ने गरी कार्यदलले प्रतिवेदन बुझाएपछि ओलीको सत्ता संकट टरेको छ ।