स्वीजरल्याडसँगको खेलमा अर्जेन्टिनाका खेलाडीले किन बाँधे कालो आर्मब्यान्ड ?

सफल खबर संवाददाता

आइतबार, २८ असार २०८३, ०८ : ५४
स्वीजरल्याडसँगको खेलमा अर्जेन्टिनाका खेलाडीले किन बाँधे कालो आर्मब्यान्ड ?

काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिना र स्वीजरल्यान्डबीचको जारी खेलमा अर्जेन्टिनाका खेलाडीहरुले हातमा कालो आर्मब्यान्ड बाँधेर खेलिरहेका छन् । अर्जेन्टिनाका खेलाडीहरुले किन कालो आर्मब्यान्ड बाँधेर खेल खेले ? भन्ने अहिले चासोको विषय बनेको छ । 

अर्जेन्टिनाका खेलाडीहरूले स्विजरल्यान्डविरुद्धको विश्वकप क्वार्टरफाइनल खेलमा कालो आर्मब्यान्ड (black armband) बाँध्नुको कारण अर्जेन्टिनाका पूर्व कप्तान तथा महान फुटबलर एन्टोनियो राट्टिनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नु हो। एन्टोनियोको सम्मानमा खेलाडीहरुले कालो आर्मब्यान्ड बाँधेका हुन् । एन्टोनियोको ८९ वर्षको उमेरमा जुलाई १२ मा (आजै) निधन भएको हो।

राट्टिनले अर्जेन्टिनाका लागि १९६२ र १९६६ को विश्वकप खेलेका थिए। विशेषगरी १९६६ विश्वकपमा इंग्ल्यान्डविरुद्धको विवादास्पद खेलमा उनी कप्तान थिए, र त्यस घटनापछि नै फिफाले पछि गएर पहेंलो र रातो कार्ड प्रणाली लागू गर्ने निर्णय गरेको ऐतिहासिक पृष्ठभूमि पनि जोडिन्छ।

उनी सन् १९६६ को विश्वकपमा इंग्ल्यान्डको वेम्ब्ली रंगशालामा आयोजक इंग्ल्यान्डसँग भएको क्वार्टरफाइनल खेलको एक ऐतिहासिक तथा विवादास्पद घटनाका कारण विशेष रूपमा चर्चित छन्। त्यस खेलमा जर्मन रेफ्री रुडोल्फ क्राइटलाइनले उनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिरिन निर्देशन दिएका थिए।

तर रेफ्रीले स्पेनी भाषा नबोल्ने भएकाले आफूले निर्णय नबुझेको भन्दै राट्टिन तत्काल मैदान छाड्न मानेनन्। मैदानबाट बाहिरिने क्रममा उनले इंग्ल्यान्डको कर्नर फ्ल्यागलाई बङ्ग्याएका थिए भने महारानी एलिजाबेथ द्वितीयका लागि राखिएको रातो कार्पेटमा केही मिनेट बसेर विरोध जनाएका थिए।

राट्टिनले वर्षौँपछि एक अन्तर्वार्तामा त्यस घटनालाई सम्झँदै भनेका थिए, “कर्नरतिर पुगेर मैले इंग्ल्यान्डको झण्डा बङ्ग्याएँ र उनीहरूलाई गाली गरेँ। त्यसपछि महारानी मैदानमा प्रवेश गर्न प्रयोग गर्ने रातो कार्पेटमा गएर करिब पाँच मिनेट बसेँ। त्यो निकै राम्रो रातो कार्पेट थियो।”
यो घटनाले विभिन्न भाषाका रेफ्री र खेलाडीबीच हुने सञ्चार समस्यालाई अन्तर्राष्ट्रिय रूपमा उजागर गरेको थियो। त्यसपछि फिफाले सन् १९७० को विश्वकपदेखि पहेंलो र रातो कार्ड प्रणाली औपचारिक रूपमा लागू गरेको थियो।

आफ्ना अन्तिम अन्तर्वार्तामध्ये एकमा राट्टिनले भनेका थिए, “मैले जीवनभर दुईवटा मात्रै जर्सी लगाएँ— एउटा बोका जुनियर्सको र अर्को अर्जेन्टिनाको।” खेल जीवनबाट सन्न्यास लिएपछि उनले सन् १९८० मा केही समय बोका जुनियर्सको मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए। त्यसपछि उनी अर्जेन्टिनाको मध्यमार्गी–दक्षिणपन्थी राजनीतिक दलबाट प्रतिनिधिसभा (तल्लो सदन) का सदस्यसमेत बनेका थिए।

त्यसैले अर्जेन्टिना टोलीले स्विजरल्यान्डसँगको खेलमा कालो आर्मब्यान्ड बाँधेर आफ्ना पूर्व कप्तान र राष्ट्रिय फुटबलका एक महान व्यक्तित्वप्रति सम्मान व्यक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस