औद्योगिक सम्पत्ति संरक्षणका लागि नयाँ कानुनी व्यवस्था आवश्यक : उद्योग विभाग

सफल खबर संवाददाता

आइतबार, २८ असार २०८३, १६ : ५४
औद्योगिक सम्पत्ति संरक्षणका लागि नयाँ कानुनी व्यवस्था आवश्यक : उद्योग विभाग

काठमाडौँ । उद्योग विभागले नेपालमा औद्योगिक सम्पत्तिको संरक्षण र व्यापारिक पहिचान (ब्रान्ड) सुरक्षित गर्न प्रस्तावित औद्योगिक सम्पत्तिसम्बन्धी विधेयकले महत्त्वपूर्ण आधार तयार गर्ने जनाएको छ।

विभागका निर्देशक छविलाल पौडेलले काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रस्तावित कानुनी व्यवस्थाले बौद्धिक सम्पत्तिको संरक्षणसँगै व्यावसायिक ब्रान्डको सुरक्षामा सहयोग पुर्‍याउने धारणा राखे।

उनका अनुसार विधेयकमा पहिलो पटक ‘वेल-नोन मार्क’ अर्थात् ख्यातिप्राप्त व्यापार चिन्हसम्बन्धी प्रावधान समेटिएको छ। यस्तो व्यवस्थाले व्यापक पहिचान बनाएका ब्रान्डको संरक्षणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

निर्देशक पौडेलले नेपालमा उपभोक्तामाझ लोकप्रिय भइसकेका र लामो समयदेखि प्रयोगमा रहेका व्यापार चिन्हलाई समेत कानुनी मान्यता दिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको जानकारी दिए।

उनले औद्योगिक सम्पत्तिको व्यवस्थित संरक्षणले नवप्रवर्तन, लगानी प्रवर्द्धन र व्यावसायिक प्रतिस्पर्धालाई थप व्यवस्थित बनाउन सहयोग गर्ने बताए।

प्रतिक्रिया दिनुहोस