साउनदेखि तीन महिनासम्म देशव्यापी डेंगु सचेतना अभियान सञ्चालन हुने

सफल खबर संवाददाता

आइतबार, २८ असार २०८३, १४ : ११
साउनदेखि तीन महिनासम्म देशव्यापी डेंगु सचेतना अभियान सञ्चालन हुने

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म देशभर ‘डेंगु सचेतना तीन महिने अभियान’ सञ्चालन गर्ने भएको छ। डेंगु संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

अभियान सफल बनाउन देशका सबै ७५३ स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ। प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाका अनुसार गत आर्थिक वर्ष सञ्चालन गरिएको समान अभियानबाट जनचेतना अभिवृद्धि हुनुका साथै समुदायको सहभागितामार्फत संक्रमण नियन्त्रणमा सकारात्मक नतिजा देखिएकाले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको हो ।अभियानमा सहभागी गराउने योजना पनि रहेको छ।

विद्यालयहरूमा साथी शिक्षा कार्यक्रम, सरसफाइ अभियान, विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन, वक्तृत्वकला, हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिताजस्ता कार्यक्रम सञ्चालन गरिनेछ। यस्तै, होटेल, उद्योग तथा निजी क्षेत्रसँग सहकार्य गरी डिजिटल बोर्डलगायत विभिन्न सञ्चार माध्यमबाट डेङ्गुसम्बन्धी जनचेतना विस्तार गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ज्वरोसँगै शरीरमा बिमिरा देखिने, जोर्नी वा मांसपेशी दुख्ने, टाउको वा आँखाको वरिपरि पीडा हुने, वाकवाकी लाग्ने वा बान्ता हुनेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा नि:शुल्क १११५ हेल्थ हेल्प लाइनमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस