राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने 'क्यामेराम्यान' पक्राउ, गायकलाई खोज्दै प्रहरी

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, १५ : १३
राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने 'क्यामेराम्यान' पक्राउ, गायकलाई खोज्दै प्रहरी

काठमाडौं । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने 'क्यामेराम्यान' पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । यद्यपी उनको परिचय भने खुलाइएको छैन । 

यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ । सोमबार एक युट्युव च्यानल मार्फत ुदेशद्रोहीु नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो । त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ ।

मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । भदौ १ गते अपलोड गरिएको भिडियो हालसम्म १ लाख १० हजार बढीले हेरेका छन् । 

आपत्तिजनक शब्द र भिडियो फुटेज रहेको सो गीतमा नेपालको झण्डामा आगो लगाइएको छ भने ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्ने जस्ता आपत्तिजनक शब्द प्रयोग गरेर नेपालबाट खेद्नुपर्छ भनिएको छ । 

मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा नेपालको झण्डा जलाइएको भिडियोमा देखिन्छ । 

भिडियोको थम्नलेलमा देशद्रोही शरणार्थी बाहुन क्षेत्रीको हिन्दू झण्डा भन्दै जलाएपछि भन्ने शब्द राखिएको छ । जहाँ नेपालको झन्डा र पृथ्वी नारायण शाह, प्रचण्ड, ज्ञानेन्द्र शाह, विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताको तस्विर पनि जलाइएको छ । 

देशद्रोही शीर्षक राखिएको सो भिडियोको तल गायकको परिचय दिएको छ । मंगोलियन ¥याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ ।

झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो । 

महाशाखाले यस्तो भिडियोलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न । कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस