लज्जास्पद हार व्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाईनलबाट बाहिरियो

एजेन्सी

शनिबार, ३१ साउन २०७७, ०९ : ३२
लज्जास्पद हार व्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाईनलबाट बाहिरियो

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै स्पेनिस क्लब बार्सिलोना हारसहित बाहिरिएको छ । लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोनाले जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युखिनबाट ८–२ गोलको फराकिलो गोल अन्तरले पराजित हुन पुग्यो ।

चौथो मिनेटमा गोलको खाता खोलेको बार्यन म्युनिखले ८९ औँ मिनेटमा आठौँ गोल गरेको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५७ औँ मिनेटमा एक गोल फर्काए । त्यसअघि सातौँ मिनेटमा बार्यनका डेविड अलाबाले आत्मघाति गोल गरेका थिए ।

बार्यन म्युनिकका लागि थोसम मुलर र फिलिप कोन्टिन्होले दुई–दुई गोल गरे । मुलरले चौथो र ३१ औँ तथा कोन्टिन्होले ८५ र ८९ औँ मिनेटमा गोल गरेका हुन् । इभान पेरिसिकले २१ औँ, सर्गेई ग्नाब्रीले २७ औँ, जोशुआ किमिचले ६३ औँ तथा रोबर्ट लेवान्डोस्कीले ८२ औँ मिनेटमा गोल गरेका हुन् ।

पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल गरेको हो । बार्सिलोनाका लागि यो हार मात्रै नभएर अपमान पनि हो । सन् १९५१ यता बार्सिलोना पहिलो पटक ६ भन्दा बढी गोलको अन्तरमा भएको पराजय हो ।