सुपर कपको उपाधि रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाको पोल्टामा

एजेन्सी

सोमबार, २८ पुस २०८२, ०७ : ४३
सुपर कपको उपाधि रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाको पोल्टामा

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ । चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले उपाधि उचालेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे । उनले खेलको ३६ र ७३ औं मिनेटमा गोल गरेका हुन् । थप एक गोल पहिलो हाफको अतिरिक्त समयमा रोबर्ड लेवान्डोस्कीले गरे ।

रियलका लागि भने भिनिसियस जुनिर र गोन्जालो गार्सियाले गोल फर्काए । तर दुई गोल गर्दासमेत रियल हारबाट जोगिन सकेन । बार्सिलोना ३–२ गोल अन्तरले उपाधि उचाल्न सफल भएको हो ।

रोचक खेलको अन्तिम समय भने बार्सिलोना लागि तनावपूर्ण बनेको थियो । फ्रेन्की डे योङले रातोकार्ड खाएपछि अन्तिम समयमा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफमा रियलले कुनै पनि गोल गर्न नसक्दा उपाधि बार्सिलोनाले सुरक्षित गरेको हो ।

रोचक फाइनल भिडन्त साउदी अरबको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा गएराति भएको हो । पछिल्लो समय मिश्रित प्रदर्शन गरिरहेको रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक उपाधि कब्जा गरेको हो ।

गतवर्ष यही जेद्दाह मैदानम भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।