राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ०१ जेठ २०८३, १९ : ५८
राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

काठमाडौँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई प्रहरीअन्तर्गत सीमासम्बन्धी साइबर अपराध तथा मानव बेचविखन विरुद्धको विशेष कार्यदलका निर्देशक डा. थाचाइ पितानीलबुटबीच भेटवार्ता भएको छ ।

थाइल्याण्डमा आज भएको भेटमा उनीहरूबीच आपसी हितका क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ गर्ने विभिन्न उपायहरूबारे छलफल भएको दूतावासले जनाएको छ । 

सो अवसरमा विशेष गरी मानव बेचविखन, तस्करी, अनलाइन ठगी तथा साइबर अपराध नियन्त्रण, साथै गुप्तचर तथा सूचना आदानप्रदान र क्षमता अभिवृद्धिसम्बन्धी सहकार्यलाई मजबुत बनाउने विषयमा विचार विमर्श भएको थियो ।

दुवै पक्षबीच थाइल्याण्डलाई ट्रान्जिट विन्दुका रूपमा प्रयोग गर्दै मानव बेचविखनमा संलग्न समूहहरूले पर्यटक भिसा सुविधाको बढ्दो दुरुपयोग गरिरहेको विषयमा विचार आदानप्रदान गरेका थिए ।

सो अवसरमा राजदूत ओलीले थाइल्याण्ड तथा छिमेकी मुलुकहरूमा बेचविखनमा परेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्ताका लागि रोयल थाइ प्रहरीले प्रदान गरेको सहयोगप्रति प्रशंसा व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस