लोपोन्मुख गाई संरक्षण गर्न बागेश्वरीमा स्थापित ‘गौं संरक्षण केन्द्र’को आकर्षण बढ्दै

प्रकाश सिग्देल

शनिबार, १० साउन २०७७, ११ : १२
लोपोन्मुख गाई संरक्षण गर्न बागेश्वरीमा स्थापित ‘गौं संरक्षण केन्द्र’को आकर्षण बढ्दै

चितवन । पवित्र तीर्थस्थल देवघाटधाम क्षेत्रको बागेश्वरीमा लोकल (स्थानिय) जातका गाई संरक्षण गरिँदै आएको छ । उन्नत जातका गाईपालन फस्टाउँदै जाँदा स्थानीय जातका गाई लोप हुन सक्ने भन्दै योगी नरहरिनाथले थालेको अभियानलाई उनका अनुयायी र स्थानीयहरुले संरक्षणमा निरन्तरता दिएका हुन् ।

विसं २०४९ देखि योगी नरहरिनाथले बागेश्वरीमा स्थानीय जातका गाईको संरक्षण र संवद्र्धन गर्दै आएका थिए । उनको निधनपछि उनका अनुयायी र स्थानीयवासीले गौ संरक्षण केन्द्रका रुपमा यसलाई विकास गर्दै स्थानीय जातको गाईको संरक्षणमा लागेका छन् । बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम परिसरमा गौ संरक्षण केन्द्र स्थापना रहेको छ ।

यस परिसर भित्रै अहिले प्राकृतिक चिकित्सालय तथा गुरुकुल पनि सन्चालन गरिएको छ । बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरी नाथ आश्रमका निर्वतमान संयोजक टंकनाथ पौडेलले आफनो कार्यकालमा गौ संरक्षणका लागी अक्षय कोष स्थापना गरी ५२ लाख रुपैया जम्मा गरेर छाडेको बताए । हिन्दुहरुको हरेक धार्मिक कार्यहरुमा दूध, गो्बर र गहुँत आवश्यक पर्ने र त्यो नपाउने अवस्था सृजना हुन थालेपछि पनि गाईहरुको संरक्षण होस भन्ने उदेस्यले अक्षय कोष निर्माण गरेको पौडेलको भनाई छ  ।

अक्षय कोष निर्माण अभियानका संयोजक उमाशकर अग्रवालले आफुहरुले १ करोणको अक्षय कोष बनाउने उदेस्य साथ काम थालेको र अहिले ६० लाखको हाराहारीमा रकम जम्मा भएको बताए । दाताले निर्माण गरिदिएका गौशालामा गाईलाई व्यवस्थित ढंगबाट पालनपोषण गरिँदै आएको र ती गाईको पालनपोषणका लागि मासिक रु डेढ  लाख बढि खर्च हुने गरेको आश्रमका गौ सेवकहरु बताउछन् । यहा गौ सेवाका लागी सहयोगीहरु खटिएका छन् । गौशालामा १५० भन्दा बढि गाई रहेको र ५० को हाराहारीमा साना साना बाच्छा बाच्छी रहेको गौ सेवक भुपाल नाथले बताए । गाईलाई चरणको लागि नजिकैको जंगलमा लग्ने गरिएको छ । 

गौशालामा गाईको गहुँतबाट अर्क पनि बनाइने गरेको छ । यसबाट पनि संरक्षण केन्द्रले केही आम्दानी लिने गरेको छ । एक व्यक्तिलाई मासिक रकम लिने गरी अर्क बनाउनका लागि जिम्मा दिइएको छ । गाईको दूध भने बाच्छाबाच्छीलाई नै छाडिन्छ । गाईसेवकले केही दूध संकलन गरेर आफैँले प्रयोग गर्ने भए पनि व्यावसायिक रुपमा दूधको कारोबार भनेनहुने बताईएको छ ।

गाईको मल, मूत्र र दूध हिन्दूका कर्मकाण्डमा अनिवार्य रुपमा प्रयोग गरिन्छ । मृत्यु तथा सुतक परेका बेला चोख्याउन गहँुत खाने प्रचलन कायमै छ । कम दूध दिने गाईका रुपमा चिनिएका स्थानीय (काठे) गाई, संरक्षणमा चुनौती थपिएको छ । लोपोन्मुख अवस्थामा रहेका, तथा बेवारिसे गाई संरक्षण गर्नका लागि गौ संरक्षण केन्द्र प्रभावकारी बन्दै गएको गौशालाका संयोजक राम ओस्तीले बताए । विदेशबाट आयातित गाईका कारण स्थानीय वैदिक गाई संरक्षणमा समस्या देखिएको छ । पूजा तथा अनुष्ठानमा समेत स्थानीय जातको गाई नै दान गर्ने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस