थपिँदै बेरोजगारी समस्या

पत्रपत्रिकाबाट

शनिबार, १० साउन २०७७, ०७ : ४०
थपिँदै बेरोजगारी समस्या

सांकेतिक तस्विर

काठमाडौं । सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह देखिन थालेको हो।

कोरोना भाइरस (कोभिड १९) ले गत फागुनदेखि वैदेशिक रोजगार ठप्प छ। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ४५ हजार कामदार पनि रोकिए। यस अवधिमा भारतबाट करिब ५ लाख फर्किएका छन्। खाडी, मलेसियालगायत अन्य मुलुकबाट पछिल्लो समय ३५ हजार कामदार फर्किएका छन्।

रोजगारी गुमाउनेको संख्या उल्लेख्य भए पनि सरकारले त्यस्ता कामदार फिर्ता ल्याउन आनाकानी गरिरहेको छ। सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान नियमित गर्ने भएको छ। अहिले चाहेर पनि आउन नपाएका कामदार नियमित उडानमा आउन सक्ने जानकारहरू बताउँछन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजिकुमार श्रेष्ठका अनुसार पछिल्लो समय साढे तीन लाख कामदार फर्किन सक्ने देखिएको छ। त्यसमा दुई लाख कन्ट्याक सकिएका र एक लाख चालिस हजार रोजगारी गुमाएर फर्कन थालेका हुन्। अन्नपूर्ण पोस्टमा खबर छ ।