ओली र प्रचण्ड बिच आज पनि बालुवाटारमा एक्लाएक्लै छलफल

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, १० : १६
ओली र प्रचण्ड बिच आज पनि बालुवाटारमा एक्लाएक्लै छलफल

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको किचलो ब्यवस्थापनका लागि पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज फेरि एक्लाएक्लै वार्ता हुने भएको छ । अहिले बिहान ११ वजेपछि ओली प्रचण्ड वार्तामा बस्न लागेका हुन् । 

सोमबार (हिजो) पनि दुई अध्यक्षले एक्लाएक्लै वार्ता गरेका थिए । प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको निश्र्कष सहित नेकपाको जारी स्थायी समितिको बैठकमा बहस भईरहेका बेला यसको निकास कसरी दिने भन्नेमा छलफल गर्न ओली र प्रचण्ड छलफलमा बस्न लागेका हुन् । 

दुवै नेताले कुनै सहयोगी नेता नराखी एक्लाएक्लै वार्ता गर्ने भएका छन् । दुई अध्यक्ष बिच चिसिएको सम्बन्धलाई सुधार्दै नेताहरु विषय केन्द्रीत छलफलमा जुटन थालेका हुन् ।  ओलीलाई दुवै पदबाट राजीनामा गराउनु पर्ने अडानमा रहेका प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री पदबाट भने राजीनामा दिनुपर्ने बताउन थालेका छन् ।  प्रधानमन्त्री र अध्यक्ष छोड्ने विषयमा भए कुरै नगर्ने भन्दै आएका ओली पनि सोमबारवाट लौ ठिकै छ, यी विषयमा पनि छलफल गरौं भनेर आईपुगेका छन् । 

यो अवस्थामा हुन थालेको छलफल केही सकारात्मक बन्दै जान थालेको नेताहरुका सचिवालयवाट सूचना सम्प्रेषित भईरहेको छ ।  ओली र प्रचण्डको छलफलको वातावरण निर्माण र साझा निश्र्कष निकाल्नका लागि भोलि सम्मलाई स्थायी समिति बैठक रोकेर छलफलमा जुटिरहेका हुन् । 

ओली प्रचण्ड छलफल पछि दाहाल सहितका सचिवालयका ६ नेताको पनि आजै छलफल हुन सक्ने सम्भावना पनि रहेको नेताहरुको भनाई छ । उहाँहरु बीचको छलफल आज कसरी जान्छ, त्यसपछि के गर्ने, कसरी जाने भन्ने विषयमा छलफल गर्न सम्भवतः हामी पनि आजै छलफलमा बस्छौं, होला, नेकपा सचिवालयका एक नेताले सफलखबरसँग भने । 

दुई नेताले दोश्रो तहका नेताहरुलाई सम्वादमा राख्दा झन वातावरण बिग्रने हो की भनेर दुई अध्यक्षले एक्लाएक्लै छलफल सोमबारवाट शुरु गरेका हुन् । नेताहरुले आवश्यक परे वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई राखेर पनि छलफल गर्न सकिने बताएका छन् । तर अहिले छलफल एक्लाएक्लै गर्ने देखिएको छ ।