ओली दुवै पद नछाड्ने, दाहाल-नेपाल अर्को रणनीतिमा

पत्रपत्रिकाबाट

शनिबार, २० असार २०७७, ०७ : ४९
ओली दुवै पद नछाड्ने, दाहाल-नेपाल अर्को रणनीतिमा

काठमाडौं । शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे। जति बसाइ लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो। तर, छुटुन्जेलमा मन त माझियो। कुरा बाझिएरै रह्यो।

‘दुई अध्यक्षबीच खुलेरै कुराकानी भएको छ’, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सँगै रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले भने, ‘तर, विषयवस्तुमा ठोस सहमति भएको छैन। अर्को राउन्ड फेरि छलफल हुने भएको छ।’ छलफलमा महासचिव विष्णु पौडेल पनि थिए। उनले पनि सञ्चारमाध्यमलाई ओली र दाहालबीच खुलस्त कुराकानी भएको र आफूलाई लागेका कुराहरू दुवै अध्यक्षले राखेको जानकारी गराएका थिए।

‘सम्बन्ध नट गुड, नट ब्याड (न राम्रो, न खराब) भयो’, बैठकको उपलब्धिबारे बालुवाटार स्रोतले भन्यो।

ओलीसँगको बालुवाटार छलफलबारे दाहालले आफ्नो निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाएर शुक्रबार साँझ जानकारी गराएका छन्। त्यहाँ सहभागी एक सचिवालय सदस्यका अनुसार, ओली शुक्रबारको छलफलमा पनि आफ्नो अडानमा यथावत् छन्। वरिष्ठ नेता खनालले अन्नपूर्णसँग भने, ‘दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफल हामीलाई प्रचण्ड कमरेडले बिफ्रिड गर्नुभयो। कुरा मिलेनछ। अडानमै उहाँ (प्रधानमन्त्री) देखिनु भएको छ। अब स्थायी समितिबाटै कोर्स अगाडि बढ्छ।’

अर्का एक सचिवालय सदस्यका अनुसार, दाहाल बालुवाटार पुगेपछि भएको छलफलको प्रारम्भमै ओलीले आफ्नो पुरानै अडान दोहो¥याउँदै भनेका थिए, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विषयमा कुरा गर्न आउनु भएको भए त्यो कुरै नगरौं, त्यो च्याप्टर क्लोज भयो। त्यो कुनै सम्भावनै छैन, अरू केही कुरा छन् भने गरौं।’

दाहालले पार्टीभित्र उठेका विषयमा छलफल नगर्ने भन्न नसुहाउने भन्दै एकता जोगाई राख्नुपर्ने र पार्टीको निर्णयलाई सबैले मानेर जाने गरी अगाडि बढ्नुपर्ने आग्रह गरेका थिए। त्यसपछि ओलीले दाहालसँग भने, ‘पार्टी एकता सकेसम्म गर्ने हो। तर पार्टी अहिले फुटे बराबर छ। तपाईंले भोलि कारबाही गर्नुस्, त्यसपछि म अर्काे पार्टी बनाउँछु।’

त्यति मात्र होइन, दाहाललाई ओलीले शुक्रबारको छलफलमा वरिष्ठ नेता माधव नेपाल वा आफ्नो टिममध्ये कुनमा बस्ने रोज्नसमेत आग्रह गरेका थिए। ‘उहाँ (प्रधानमन्त्री) ले पार्टी एकता कायम गर्ने हो भने अध्यक्ष र प्रधानमन्त्रीको कुरा भएन, अर्काे एउटा पनि निर्णय गर्नुहोस् तपाईंले मेरो टिममा बस्ने हो कि माधव नेपालको टिममा बस्ने हो ? फैसला गर्नुहोस्सम्म मलाई भन्नुभयो’, ओलीले आफूलाई राखेको प्रस्ताव सुनाउँदै दाहालले ब्रिफिङमा भने। अन्नपूर्ण पोस्टमा खबर छ ।