कोरोना महामारीकैबीच चीनसँग वार्ता गरेको भारतले नेपालसँग किन वार्तामा बस्न चाहेन ?

सफल खबर संवाददाता

शुक्रबार, १२ असार २०७७, १६ : २२
कोरोना महामारीकैबीच चीनसँग वार्ता गरेको भारतले नेपालसँग किन वार्तामा बस्न चाहेन ?

काठमाडौं । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर नयाँ नक्शा जारी गरेपछि भारतसँग वार्ताको पहल थालेको थियो । तर भारतले वार्तामा कुनै चासो दिएन । 

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले सीमासम्बन्धी समस्या समाधानका लागि नेपालले भारतलाई आग्रह गरे पनि भारत वार्तामा बस्‍नै नचाहेको बताए। 

जारी नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले तीनपटक भारतलाई वार्ताका लागि प्रस्ताव पठाएको जानकारी गराएका छन् । तर पनि भारतले वार्तामा कुनै चासो दिएन । कोरोनाको महामारीकै बीच चीनसँग वार्ता गरेको भारतले नेपाललाई किन दिएन चासो ? एक परराष्ट्रविदका अनुसार नेपालप्रति भारतको अझै हेपाहा प्रवृत्ति छर्लङ देखियो ।

नेपालले नोभेम्बर पहिलो साता भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेपछि त्यस विषयमा आपत्ति जनाउँदै भारतलाई समस्या समाधानका लागि तीनपटक वार्ताका लागि प्रस्ताव गर्‍यो । पहिलोपटक नोभेम्बरमा, दोस्रो पटक डिसेम्बरमा र तेस्रोपटक फेब्रुअरीमा । तर, भारतले कुनै जवाफ नै पठाएन । सीमा समस्या वार्तामार्फत् समाधान गरिनुपर्ने भए पनि भारतले वास्ता गरेको छैन ।  

परराष्ट्र मन्त्रालयले चीनसँग नेपालको कुनै सीमा समस्या नभएको र आगामी दिनमा कुनै समस्या आएमा संवादमार्फत् समाधान गरिने बताएका छन् । यस विषयमा बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कृषि तथा पशुपन्छी मन्त्रालयको अनधिकृत तथ्यांकलाई आधार बनाएर समाचार बनाएकोमा आपत्ति जनाउँदै नेपाल(चीनबीचका सीमा समस्या सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिअनुसार निर्धारित गरिएको छ । त्यसपछिको समझदारीपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेको उल्लेख गरेको थियो । 

भारतले भने नेपालले सीमा समस्या समाधानका लागि तीनपटक प्रस्ताव गर्दा पनि जवाफ त दिएन नै उल्टै कोरोना महामारीकाबीच ८ मेमा नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेको थियो ।