रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान

सफल खबर संवाददाता

बुधबार, ०२ बैशाख २०८३, १३ : १३
रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समिति नेतृत्व चयनको प्रक्रियाअघि आफ्ना सांसदहरूबीच आन्तरिक समन्वयका लागि संसदीय दलको बैठक बोलाएको छ।

पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बिहीबार मध्यान्ह सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने कार्यक्रम तय गरिएको छ।

उक्त बैठक संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ता गर्ने निर्धारित समयअघि राखिएको हो। यसले उम्मेदवार छनोट तथा रणनीतिक तयारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि प्रतिनिधिसभाले चैत २७ गते विषयगत समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाएको थियो। त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले समितिका सभापति चयनका लागि आगामी शुक्रबार निर्वाचन मिति घोषणा गरेका थिए। सोही कार्यतालिका अनुसार बिहीबार मनोनयन दर्ता प्रक्रिया अघि बढ्नेछ।

संघीय संसद् अन्तर्गत कुल १६ वटा समिति रहेका छन्, जसमध्ये प्रतिनिधि सभा मातहत १०, राष्ट्रिय सभा अन्तर्गत ४ र दुई वटा संयुक्त समिति रहेका छन्। राष्ट्रिय सभा तर्फका समितिहरूको नेतृत्व चयन प्रक्रिया भने यसअघि नै सम्पन्न भइसकेको छ भने प्रतिनिधि सभा र संयुक्त समितिहरूका सभापतिहरूको निर्वाचन हुन बाँकी छ।