एजेन्सी । टी-२० विश्वकप २०२६ अन्तर्गत आज प्रतिक्षित खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बेलुका ७:१५ मा सुरु हुनेछ।
भारतले सन् २००७ को पहिलो विश्वकपमा पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो भने सन् २०२४ मा पनि च्याम्पियन बनेको थियो। अर्कोतर्फ, पाकिस्तान सन् २००९ को विजेता हो।
यो खेलमा भारतीय टोलीका लागि सबैभन्दा ठूलो चुनौती पाकिस्तानी बलर उस्मान तारिक बन्ने देखिएका छन्। श्रीलङ्काको स्पिनमैत्री पिचमा तारिकको बलिङ शैली, गतिको भिन्नता र विशेष कोण भारतीय ब्याटरहरूका लागि टाउको दुखाइ बन्न सक्छ। भारतीय टोलीमा युवा ओपनर अभिषेक शर्माको पुनरागमनलाई लिएर पनि चासो बढेको छ।
अघिल्लो खेल बिरामीका कारण गुमाएका अभिषेक आज मैदान उत्रने सम्भावना छ। कप्तान सूर्यकुमार यादव, ईशान किशन र हार्दिक पाण्ड्या उच्च फर्ममा रहे पनि स्पिन खेल्नमा देखिएको कमजोरी भारतका लागि चुनौतीपूर्ण हुन सक्छ।
तथ्याङ्कको आधारमा भारतको पक्ष निकै बलियो देखिन्छ। टी-२० विश्वकपमा यी दुई देशबीच भएका ८ खेलमध्ये भारतले ७ खेल जितेको छ भने पाकिस्तानले मात्र १ खेलमा जित निकालेको छ। समग्र टी-२० अन्तर्राष्ट्रिय खेलमा पनि १६ भेटमध्ये १३ मा भारत विजयी भएको छ। जसप्रित बुमराहको घातक बलिङ र कुलदीप यादव तथा वरुण चक्रवर्तीको स्पिन जोडी पाकिस्तानका लागि घातक साबित हुन सक्छ।
पाकिस्तानका लागि भने ब्याटिङ मुख्य कमजोरीको रूपमा देखिएको छ। ओपनर साहिबजादा फरहान बाहेक बाबर आजम र कप्तान सलमान अलि आगाले सुस्त गतिमा रन बनाइरहेका छन्, जसले टोलीलाई दबाबमा राखेको छ। यद्यपि, शाहीन शाह अफ्रिदीको सुरुवाती स्विंग र शादाब खानको अलराउन्ड प्रदर्शन पाकिस्तानका लागि सकारात्मक पक्ष हुन्।
कोलम्बोको मौसम र पिचले खेलको नतिजामा ठूलो प्रभाव पार्ने निश्चित छ। शनिबार रातिदेखि नै वर्षा भइरहेकाले मैदान कभर्सले ढाकिएको छ। आइतबार पनि वर्षाको ५० प्रतिशत सम्भावना रहे पनि खेल हुने समयमा भने वर्षाको जोखिम १० प्रतिशत मात्रै रहेको मौसम पूर्वानुमानले जनाएको छ।
यो खेल प्राविधिक मात्र नभई कूटनीतिक दृष्टिकोणले पनि चर्चामा छ। गत वर्षको एसिया कप र सीमा क्षेत्रमा भएका तनावका कारण भारतीय खेलाडीले पाकिस्तानी खेलाडीसँग हात मिलाउने छन् कि छैनन् भन्ने विषयले पनि खेलमा थप कौतुहलता जगाएको छ। यदि वर्षाका कारण खेल हुन सकेन भने दुवै टोलीले १–१ अंक बाँड्नेछन्, किनकि यस खेलका लागि 'रिजर्भ डे' राखिएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ फागुन २०८२, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै
प्रधानमन्त्री कार्कीद्वारा टी-२० विश्वकप खेल्ने खेलाडीलाई विजयको शुभकामना