काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क आज सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर सो तथ्याङ्क प्रकाशन गरेको जनाएको छ ।
बैंकका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र आफ्नै स्रोतबाट सङ्कलित तथ्याङ्कका आधारमा घरजग्गा कारोबारसम्बन्धी विवरण अब त्रैमासिक रूपमा सार्वजनिक गरिनेछ ।
राष्ट्र बैंकले लिखत पारितअन्तर्गत राजीनामा कारोबारका आधारमा प्रवृत्तिको विश्लेषण गरेको छ । कारोबार सङ्ख्या, कारोबार मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व सङ्कलन तथा घरजग्गा क्षेत्रमा प्रवाहित बैंक कर्जाजस्ता सूचकहरूलाई आधार मानेर विश्लेषण गरिएको बैंकले जनाएको छ ।
तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति देखिएको छ ।
प्रदेशगत रूपमा हेर्दा कारोबार सङ्ख्याका आधारमा मधेस प्रदेश अग्रस्थानमा रहेको छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार सबैभन्दा कम देखिएको छ । कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा पनि मधेस प्रदेशकै हिस्सा सबैभन्दा बढी रहेको छ ।
जग्गाको प्लट साइजका आधारमा मधेस प्रदेशबाहेक अन्य प्रदेशहरूमा दुई दशमलव पाँचदेखि १० आना क्षेत्रफलका प्लटहरू बढी किनबेच हुने गरेको पाइएको छ । तर मधेस प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला प्लटहरूमा बढी कारोबार हुने देखिएको छ । घोषित मूल्यका आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ भने महानगर तथा उपमहानगरपालिकामा पाँचदेखि १० आना क्षेत्रफलका प्लटहरू बढी कारोबार भएको देखिएको छ ।
बैंकका अनुसार आव २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले वृद्धि भएको छ भने आवासीय कर्जा ६१.५५ प्रतिशतले बढेको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्वमा पनि उतारचढाव देखिएको छ । आव २०७८/७९ को पहिलो त्रैमासमा करिब २३ अर्ब ७० करोड रुपैयाँ पुगेको राजस्व त्यसपछि घट्दै २०७९र८० को पहिलो त्रैमासमा आठ अर्ब २० करोड रुपैयाँमा झरेको थियो । पछिल्लो अवधिमा भने सुधार हुँदै २०८१र८२ मा करिब १५ अर्ब रुपैयाँसम्म पुगेको छ ।
राष्ट्र बैंकले यस्तो तथ्याङ्क प्रकाशनबाट रियलस्टेट क्षेत्रको गतिविधि आँकलन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, उक्त तथ्याङ्कका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०८२, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट सवा खर्ब खिच्दै
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
१४ माइक्रोफाइनान्स राष्ट्र बैंकको कारबाहीमा
४० अर्ब रुपैयाँ दीर्घकालीन निक्षेप संकलन गर्दै राष्ट्र बैंक
पूर्वाधार विकास बैंकको कर्जा खरिद-बिक्री समय सीमा ३ वर्ष थप
ट्रेजरी बिलमार्फत १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी