चार अर्ब १५ करोडको बजेट पारित गर्दै भरतपुर महानगरपालिकाको छैठौँ नगरसभा सम्पन्न

सफल खबर संवाददाता

शुक्रबार, १२ असार २०७७, १५ : २१
चार अर्ब १५ करोडको बजेट पारित गर्दै भरतपुर महानगरपालिकाको छैठौँ नगरसभा सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको बुधवार सुरू भएको छैठौ नगरसभा नगरप्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उप प्रमुख पार्वती शाह ठकुरीद्वारा प्रस्तुत ४ अर्ब १५ करोड बराबरको बजेट पारित गर्दै शुक्रबार सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न भएको  छैटौँ नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष ०७७ र ०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम कोभिड १९ को प्रभावलाई न्यूनीकरण गर्न केन्द्रित भएको छ । महानगरपालिकाको छैटौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कोभिड केन्द्रित भएको हो ।  

प्रमुख तथा उपप्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि नगर सभा सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । नगरसभा सदस्यहरूले नीति तथा कार्यक्रमप्रति सकारात्मक सुझाबहरू आएको भन्दै यसलार्ई समेट्दै नीति तथा कार्यक्रमलाई अझै प्रभावकारी बनाइदै लैजाने प्रमुख दाहालले बताउनुभयो । 
समापन समारोहमा नगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीयय अधिकृत प्रेमराज जोशी, वडा नं २१ का अध्यक्ष चित्रसेन अधिकारी, वडा न १० का अध्यक्ष तथा प्रवक्ता अरूण पीडित  भन्डारीले छैटौँ नगर सभाको समापन समारोहलााई सम्बोधन गर्दै पारित नीति तथा कार्यक्रम र बजेटलाई योजनाबद्ध ढंगले कार्यान्वयन गर्न सबैको सामुहिक प्रयास आवश्यक हुने धारणा राख्नुभएको थियो ।

नीति कार्यक्रम सँगसँगै आउँदो वर्षका लागि विनियोजित बजेट कोभिड १९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुलाई रोजगार सिर्जना गर्न केन्द्रित छ  । 

त्यसैगरी महानगरबासीहरुको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकताहरु परिपूर्ति गर्दै जाने, निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध महानगर बानाउन बजेट केन्द्रित भएको छ। 

समापन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले सिङ्गो विश्व यतिबेला कोरोना भाइरसले ल्याएको संकट सामना गरिरहेको भन्दै सिंगो मुलुक तथा महानगर पनि विपत्तिसँग जुधिरहेको बताउनुभयो । महानगरले कोरोना संक्रमणसँग जुध्न भरतपुर कोरोना विशेष अस्थायी अस्पताल र कोभिड १९ प्रयोगशाला स्थापना गरेको भन्दै उहाँले सबै वडामा क्वारेन्टिनको स्थापना गरिएको बताउनुभयो ।

महानगरपालिकाले बितेका तीन वर्षमा साना ठूला गरी करीब ३०० किलोमिटर सडक कालोपत्रे, वडा कार्यालय, उद्यान, सडक मर्मत, मेशजाली लगाउने, सीप विकास र क्षमता विकास, कृषि तथा पशु विकासका काम गरिएको  बताउँदै नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटलाई कडाइका साथ कार्यन्वयन गरेर सिङ्गो भरतपुर महानगरपालिका निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

सो अवसरमा प्रमुख दाहालले भरतपुर महानगरपालिकाले बितेका ३ वर्षमा गरेका र आगामी आर्थिक वर्षमा गरिने कामहरूको विवरण प्रस्तुत गर्नुभयो । महानगरपालिकाले आफ्नै सिटी हल बनाउने लक्ष्यअनुरुप काम भइरहेको, महानगरीय रिंगरोड, लिंकरोड, बाइपास रोडको स्तरोन्नति, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणका साथै सहरी पूर्वाधार निर्माणका कार्य अघि बढिरहेको दाहालले जानकारी गराउनुभयो ।  

महानगरकै पहलमा चौबिसकोठी–चनौली–मेघौली सडक बैकल्पिक सहायक राजमार्गमा स्तरोन्नति भएको, भरतपुर विमानस्थल प्रादेशिक विमानस्थलको रुपमा रुपान्तरण भएको भन्दै उनले अन्य केही ठूला आयोजनाहरु तीव्र रुपमा अघि बढिरहेको बताउनुभयो । 

महानगरपालिकामा हालसम्म १४ वटा ऐन, ६ वटा नियमावली, ६ वटा निर्देशिका, ३३ वटा कार्यविधि, ४ वटा मापदण्ड तथा एक आचार–संहिता गरी ६४ वटा कानुनहरु निर्माण भई कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख दाहालले कृषकलाई व्याजमा अनुदान, एक कस्टम हायरिंग केन्द्र स्थापना गरिने, बीउबिजन र मल वितरणमा अनुदान दिने,  पुरिएका र जीर्ण सिंचाई नहरहरूको पुननिर्माण गरिने बताउनुभयो ।

कृषि उपजहरुलाई सहज रूपमा बजारसम्म लैजानका लागि कृषि क्षेत्रसम्म पुग्ने पूर्वाधारहरुको विस्तार गरिने, सबै हाटबजारहरुमा स्वदेशी उत्पादनमात्र बिक्री गर्न “हाम्रो हाटबजार स्थानीय उत्पादन” कार्यक्रम संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

यस्तै कृषि सूचना प्रणालीको विकास गर्ने,  कृषियोग्य जमिन बाँझो राख्न नदिइने, खेतीयोग्य जमिन विपन्न तथा लक्षित वर्गका किसान, समूह विशेष वा सहकारीलाई कृषि प्रयोजनका लागि अल्पकालीन भाडामा प्रदान गर्न आवश्यक पूर्वाधार निर्माण, समन्वय र सहजीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै भूमि बैंकको अवधारणालाई कार्यान्वयन गर्न प्रक्रिया अघि बढाइने नीति भरतपुर महानगरपालिकाले लिएको छ ।

छैटौँ नगर सभामा सक्रियतापूर्वक सहभागी भइ सभ्य र भब्य ढंगले सफल बनाउन  सहयोग गर्नुहुने नगरसभा सदस्यहरू, कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । नगर सभाको  समापनको अवसरमा महानगरपालिकालाई सहयोग गर्नु हुने करदाता, संघसंस्था कर्मचारीसँग एवम् राष्टिय खेलमा पदक बिजेता खेलाडीका साथै महामारीको रूपमा फैलिएको कोभिड १९ को नियन्त्रण र रोकथाममा सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो ।

शुक्रवार सम्पन्न नगर सभाले कृषि बिमाअन्तर्गत किसानको उत्पादनको बिक्री वितरणलाई पूर्ण सुरक्षण प्रदान गरिने, महानगरस्तरीय आधुनिक भण्डारण केन्द्र निर्माण गरिने, सीड बैंकको स्थापना गरेर किसानलाई समयमै गुणस्तरीय बीउ उपलब्ध  गराइने, कृषि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषकहरुले पाँच वर्षभन्दा बढी समयका लागि भाडामा लिएको वा आफ्नै स्वामित्वमा रहेको १५ बिघाभन्दा बढी क्षेत्रफलको जग्गामा व्यावसायिक खेती गरेमा त्यहाँबाट वर्षैभरी उत्पादन हुने उपजको सहज बजारीकरणका लागि बिक्री केन्द्र स्थापना गर्न अनुदान प्रदान गरिने नीति पारित गरेको छ।

कोभिड १९ संक्रमणले गर्दा विभिन्न देशबाट फर्किने महानगरबासी युवाहरुको विदेश रोजगारबाट आर्जन गरेको ज्ञान, सीप र उद्ममशीलताको उपयोग गर्न विदेशको सीप स्वदेशका लागि कार्यक्रमअन्तर्गत सीपअनुसार परियोजना बनाउन सहयोग गर्ने, बैंकबाट ऋण लिन सहजीकरण तथा यन्त्र उपकरण खरिद गर्न सहयोग गर्ने नीति अवलम्बन गरिने नीति महानगरपालिकाले लिएको छ।

युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय सुरु गर्न आवश्यक क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँचमा सहजीकरण र बजारीकरणका कार्यक्रमसँग क्रमशः आबद्ध गराई रोजगारी अभिवृद्धिका कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिला तथा ज्येष्ठ नागरिकलाई भरतपुर केन्द्रीय अस्पतालबाट प्रदान गरिंदै आएको बहिरंग टिकट निःशुल्क नै कायम राखी यस आर्थिक वर्षबाट अपाङ्गता भएका व्यक्तिहरुलाई पनि निःशुल्क टिकटको व्यवस्था थप गरिने उहाँले बताउनुभयो ।

सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निःशुल्क यातायात र एम्बुलेन्स खर्च उपलब्ध गराउने र गर्भवती महिलाहरुको ओसारपसारको लागि भरतपुरअस्पताललाई एउटा एम्बुलेन्स उपलब्ध गराउने नीति लिएको प्रमुख  दाहालले जानकारी दिनुभयो । हाम्रो गौरव, हाम्रो भरतपुर विषयको पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि शुरु गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस