आफ्नै अभिव्यक्तिले मोदीको चौतर्फी रूपमा विरोध

पत्रपत्रिकाबाट

आइतबार, ०७ असार २०७७, ०७ : २३
आफ्नै अभिव्यक्तिले मोदीको चौतर्फी रूपमा विरोध

नयाँदिल्ली । सार्वजनिक भाषण र वाक्पटुताका लागि कहलिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो आफ्नै सार्वजनिक अभिव्यक्तिका कारण आलोचित भएका छन् । शुक्रबारको सर्वदलीय बैठकमा मोदीको चिनियाँ सेना भारतीय भूमिमा प्रवेश नगरेको भन्ने भनाइलाई लिएर विपक्षीहरु र पूर्वकूटनीतिज्ञहरुले चर्को आलोचना गरेका हुन् ।

चौतर्फी विरोध र आलोचना भएपछि भारत सरकारले मोदीको बचाउ गर्दै भनाइलाई तोडमोड गरिएको दाबी गरेको छ । गत सोमबार साँझ लद्दाखको गलवान क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त घटनाका सम्बन्धमा छलफल गर्न मोदीले नै शुक्रवार सर्वदलीय बैठक डाकेका थिए । बैठकमा मोदीले ‘पूर्वी लद्दाखको घटनाका सम्बन्धमा रक्षामन्त्री र विदेश मन्त्रीको कुरा सुने र प्रस्तुति पनि हेरेँ । न त उनीहरुले हाम्रो सीमामा पसेका छन् न त हाम्रो कुनै चौकी कसैले कब्जामा लिइएको छ,’ भनेका थिए ।

मोदीको उक्त भनाइलाई लिएर सबैतिरबाट आलोचना सुरु भएको हो । मोदीले शुक्रबारको सर्वदलीय बैठकमा राखेको भनाइप्रति विपक्षी दलदेखि पूर्वकूटनीतिज्ञसम्मले विरोध र आश्चर्य प्रकट गरेका थिए । उनीहरुले मोदीको उक्त भनाइ सरकारको यसअघिको अडानको खिलाफ भएको आरोप लगाएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।