चितवनका सात पालिकामा एक सय चार क्वारेन्टाइन

सफल खबर संवाददाता

विहीबार, ०४ असार २०७७, १५ : १४
चितवनका सात पालिकामा एक सय चार क्वारेन्टाइन

साङ्केतिक फोटो

चितवन । कोरोना भाइरस (कोभिड १९) का शंकास्पद बिरामी व्यवस्थापन गर्न चितवनमा सात पालिकाले १ सय ४ वटा क्वारेन्टाइनस्थल बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार चितवनका १सय ४ वटा क्वारेन्टाइनमा ५ सय ३२ जना रहेका छन् । उनले भने, ‘हालसम्म चितवनका क्वारेन्टाइनबाट ६६१ जना घर फर्केका छन् ।’

उनका अनुसार चितवनमा क्वारेन्टाइनमा थपिनेको संख्याभन्दा घर फर्कनेको संख्या बढी छ । ‘यहाँका क्वारेन्टाइनमा एक हजारभन्दा बढी संख्या थियो, अहिले घट्दै आएर ५ सय ३२ जनामा सीमित भएको छ’, सूचना अधिकारी सिंखडाले भने, ‘थपिने क्रममा आधाआधी घटेको देखिन्छ ।’

बुधबारमात्रै माडी नगरपालिकाको क्वारेन्टाइनमा २२ जना, भरतपुर महानगरका क्वारेन्टाइनमा ३२ जना, रत्ननगरमा १ जना, कालिकामा १ जना, राप्तीमा ९ जना र खैरहनीमा ५ जना थपिएका छन् । यद्यपि, यो संख्या पहिले थपिनेको तुलनामा कम रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सबैभन्दा बढी क्वारेन्टाइन बनाउने चितवनका सात स्थानीय तहमध्ये माडी नगरपालिका पहिलो हो । माडीमा १२ वटा क्वारेन्टाइन निर्माण भएका छन् । माडी नगरपालिकाका सूचना अधिकारी प्रविन भण्डारीले ३ वटा क्वारेन्टाइन खाली भइसकेको बताए । उनले भने, ‘सोमेश्वर मावि, गोविन्दबस्ती र माडी माविको क्वारेन्टाइन खाली भइसकेको छ ।’ हाल माडी नगरपालिकाका क्वारेन्टाइनमा ८९ जना बसिरहेका छन् ।

माडी नगरपालिकाका अनुसार २८९ जना क्वारेन्टाइनबाट घर फर्केका छन् । सूचना अधिकारी भण्डारीले भने, ‘क्वारेन्टाइनमा थपिनेको चाप कम भएको छ । विगत सात दिनयता माडीमा ५० जना क्वारेन्टाइनमा थपिएका उनी बताउँछन् । उनले भने, ‘पहिलेको तुलनामा थपिने संख्या कम भएको छ ।’

माडीका क्वारेन्टाइनमा भारतमा रोजगारी गरी फर्कनेहरु बढी छन् । माडी नगरपालिकाले माडी क्याम्पसमा रहेको क्वारेन्टाइनलाई आइसोलेसनमा विस्तार गरेको छ । सूचना अधिकारी भण्डारीले भने, ‘भारतीय सीमामा रहेकालाई ल्याउने क्रम जारी छ, सीमासम्म माडीका नागरिक आउने क्रम पनि चलिरहेको छ ।’

खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकाका क्वारेन्टाइनमा थपिने संख्याभन्दा घर फर्कने संख्या बढ्न थालेको छ । रत्ननगरमा निर्माण गरिएका क्वारेन्टाइनहरु खाली हुँदै गएका छन् भने इच्छाकामना गाउँपालिकामा पनि थपिने संख्याको तुलनामा घर फर्कने संख्या बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस