प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गर्दै , २ बजे मन्त्रिपरिषद् वैठक बस्ने

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०७७, ०८ : ४६
प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गर्दै , २ बजे मन्त्रिपरिषद् वैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । आर्थिक वर्ष २०७७/०७८ माथी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय र मातहातको कार्यलयमा विनियोजित बजेटका बारेमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने र समसामायिक विषयलाई पनि समेटेर प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रतिनिधीसभाको वैठक आज विहान ११ बजेका लागि बोलाईएको छ । ओलीले कोभिड १९ को रोकथाम र नियन्त्रणका अबका उपायदेखि नेपाल-भारत सिमा विवाद, एमसिसि विवाद सम्ममा केन्द्रीत रहेर संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

गत आर्थिक वर्षमा प्रधानमन्त्री कार्यालयको जवाफमा अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिएका थिए । यसपटक पनि प्रधानमन्त्रीको बारिसेका रुपमा अन्य कुनै मन्त्रीले पो जवाफ दिन खोजेको हो की भन्दै सांसदहरुले प्रश्न उठाएपछि हिजोको संसद वैठकमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रधानमन्त्रीले वुधबार संसदमा जवाफ दिने कार्यक्रम रहेको जानकारी गराएका थिए ।

ओलीले लकडाउनको मोडालिटी, सरकार कोभिड १९ नियन्त्रणमा असफल हुँदै  गएको लगायतका सांसदहरुले लगाएको आरोपको जवाफ दिने भएका छन् ।

मन्त्रिपरिषद् वैठक पनि बस्दै
संसदमा सम्बोधन पछि कार्यसूचिमा सरकारले विनियोजन विद्ययेक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि छ । संसदमा बजेट पारित भएसँगै प्रधानमन्त्री निवास वालुवाटारमा आज मन्त्रिपरिषद् वैठक बस्दैछ ।

हिजो बेलुकी ६ बजेका लागि नै मन्त्रिपरिषद्को वैठक बोलाईएको थियो । अन्तिम समयमा वैठक स्थगित गदै आज दिउँसो २ बजेका लागि बोलाइएको हो ।

गत चैत ११ गते देखि सरकारले निरन्तर अहिलेसम्म ७८ दिनमा लकडाउन चलिरहेको छ । ३२ जेठ सम्मका लागि लकडाउन तय गरिएको छ । तर सरकारले लकडाउन मात्रै गरेको, कोभिड १९ नियन्त्रण र रोकथाममा प्रभावकारी काम गर्न नसकेको, सरकार यसमा एकप्रकारले झण्डै झण्डै असफल  बनेको जस्ता आरोप लाग्न थालिसकेको छ ।

जनतालाई राहात उपलब्ध गराउने सवालमा सरकार असफल बनेको भन्दै  सर्वसाधारणहरु सरकारको यो रणनीतिका विरुद्द सडकमा उत्रन थालेका छन् । हिजो मात्रै प्रधानमन्त्री  निवास वालुवाटारमा सडकमै सुतेर विरोध प्रर्दशन गरेका थिए । उनीहरुलाई हटाउन प्रहरीले पानीको फोहोरा समेत प्रहार गर्न परेको थियो ।

सरकारको लकडाउन सर्वसाधारणले क्रमशः उल्लंघन गरेपछि सरकार वाध्यभएर लकडाउन खुकुलो बनाउने रणनीतिमा लागेको छ । यद्यपी कसरी लकडाउन खोल्ने भन्नेमै सरकार हप्तौ अलमलिरहदा सर्वसधारणले आफै लकडाउनको उल्लंघन गर्दै सडकमा विरोधमा निस्कन थालेका हुन् ।

आजको क्याविनेट वैठकले त्यसको मोडालिटीका विषयमा निर्णय लिने सम्भावना रहेको एक मन्त्रीले बताए । यसका लागि ५ चरणको तयारीमा अहिले सरकारले छलफल गरिरहेको छ  । मोडालिटी तयार पार्न उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मा दिएको पनि हप्तौ वितेको छ । तर यसले मोडालिटी तयार पार्नमै अलमल गरेपछि सर्वसाधारणले सरकारी रवैयाको विरुद्दमा आवाज उठाउन थालेका छन् । आजको मन्त्रिपरिषद् वैठकले भने केही न केही मोडालिटी तय गर्ने तयारी गरेको एक मन्त्रीले वताए ।