नेपालमा ७५ जनालाई परिक्षण गर्दा एक जनामा कोरोना !

संक्रमितको संख्या नै ५ हजार पुग्ने सरकारको प्रक्षेपण, कम्तीमा ६ लाख मान्छेमा परिक्षण गरिदैं

सफल खबर संवाददाता

मंगलबार, १३ जेठ २०७७, ०८ : ४६
नेपालमा ७५ जनालाई परिक्षण गर्दा एक जनामा कोरोना !

काठमाडौं । नेपालमा कोरोना संक्रमतिको अवस्था कस्तो होला ? पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या एकै दिनमा झण्डै १ सय जनासम्ममा देखिन थालेपछि अहिले यस विषयमा मान्छेहरुले विभिन्न अड्कलबाजी लगाउन थालेका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमणको संख्या गत चैतको पहिलो सातामा जम्माजम्मी दुई जनामा मात्र देखिएकोमा अहिले यो संख्या बढेर ७ सय हाराहारीमा छ ।

हिजो मात्रै ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । पछिल्ला दिनमा बढ्न थालेको संक्रमितको संख्या हेर्दा सरकारले अनुमान गरेभन्दा अवस्था कतै भयावह हुने चरणमा त नेपालमा छैन ? मान्छेहरुले अनेक आशंका गरिरहेका छन् । परिक्षण नै कम भएको र परिक्षण भएका थोरैबाट ७ सयको हाराहारीमा कोरोना संक्रमतिको संख्या देखिनु आफैमा चुनौतिपूर्ण अवस्था रहेको जानकारहरु बताउँछन् ।

नेपालमा यसले कस्तो रुप लेला ? कति प्रभावित होलान् भन्ने पूर्व अनुमानमा जुटेका कतिपयले नेपालमा डरलाग्दो जोखिमको सम्भावना औंल्याईरहेका छन् । तर सरकारले अहिले झण्डै ५ हजार ब्यक्ती संक्रमित हुन सक्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, ५ हजार जति मानिसमा नेपालमा कोभिड १९ को संक्रमण देखिन सक्छ । यस अगाडी सरकारले जम्माजम्मी १ हजार ५ सय हाराहारीमा संक्रमित देखिन सक्ने अनुमान लगाएको थियो । तर पछिल्लो साता यता ह्वातै बढन थालेको संक्रमितको संख्यालाई हेरेर सरकारले नयाँ प्रक्षेपण गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

अहिले नेपालमा कोभिड परिक्षणका लागि सरकारले पिसिआर र आरडिटी गरी दुई वटा प्रविधि प्रयोग गरिरहेको छ । आरडिटी भरपर्दो नभएको र स्याम्पलिङका लागि मात्र रहेको बताईरहेका बेला पिसिआर परिक्षणलाई मात्र आधिकारिक मान्न सकिने अवस्था छ । यसबाट अहिलेसम्म झण्डै ५० हजारमा परिक्षण गरिएको छ । ५० हजार जनामा परिक्षण गर्दा ७ सय हाराहारी संक्रमति भएको पुष्टि भएको छ । यो भनेको ७५ जनालाई परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण भेटिएको तथ्यांक हो । यस अर्थमा नेपालमा परिक्षण गरिएकामध्ये ७५ जनामध्ये १ जनामा संक्रमण पुष्टि भएको अर्थमा लिन सकिन्छ । पछिल्लो साता बढेको संक्रमणले नेपालमो संक्रमतिको संख्या ५ हजार पुग्न सक्ने अनुमान लगाउँदै सरकारले सोही अनुसारको तयारी थालेको छ ।

पछिल्लो पटक सरकारले कुल जनसंख्याको २ प्रतिशतमा कोरोना परिक्षण गराउने लक्ष्य बनाएको छ । प्रधानमन्त्री केपी ओलीले हिजो मात्रै देशवासीका नाममा गरेको सम्बोधनमा उनले २ प्रतिशत जनसंख्याको कोरोना परिक्षण गरिने बताएका थिए । यस हिसाबले झण्डै ६ लाख मानिसको कोरोना परिक्षण गर्ने योजना सरकारले सार्वजनिक गरेको छ । विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण बिस्तार गर्ने योजनामा सरकार रहेको प्रधानमन्त्री ओलीको सोमबार देशवासीका नाममा गरिएको सम्बोधनमा उल्लेख थियो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या कुल २ करोड ९९ लाख ६६ हजार २ सय ४० छ । यसको दुई प्रतिशत को परीक्षण गर्दा कम्तीमा ६ लाख मानिसहरुको परिक्षण गर्नुपर्ने हुन्छ । सरकारले यसरी ६ लाख मान्छेको परिक्षण गर्ने योजना बनाएको छ । अहिले तत्कालका लागि सरकारले ५ हजार संक्रमति हुन सक्ने अनुमानमा सोही अनुसारको तयारी थालेको छ । परिक्षणका क्रममा २ हजार ब्यक्ती पुगे त्यसपछिको अवस्थालाई मध्यनजर गरेर नयाँ रणनीति बनाईने तयारीमा सरकार रहेको स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाका निर्देशक  भोगेन्द्रराज डोटेल बताउँछन् । 

उनका अनुसार, अहिले सोही अनुसार स्वास्थ्य सामग्री खरिद प्रक्रियामा सरकार जुटिसकेको छ । सरकारसँग अहिले कोरोना परिक्षणका लागि आवश्यक भिटिएम किट र पिसिआर किटको लागि टेन्डर आह्रवान भईसकेको छ । भिटिएम २ लाख ५० हजार र पिसिआर १ लाख किट खरिदको तयारीमा सरकार छ । पिसिआर अहिले सरकारसँग जम्माजम्मी मौज्दात ५० हजार किट छ । हिजो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले भारत लगायत तेश्रो मुलुकमा रहेका २५ हजार नेपाली नागरिकलाई पहिलो चरणमा प्राथमिक सूचिका आधारमा स्वदेश फर्काउने र उनीहरुको पिसिआर परिक्षण गरेर मात्र घर जान दिने गरि निर्देशिका पारित गरेको छ ।

अब सो अनुसार सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन खोजेको छ । सरकारले दक्षिण छिमेकी मुलुक भारतबाट भने अनुमान गरिएभन्दा बढी नेपालीहरु स्वदेश फिर्ता भएको जनाएको छ । यसले पनि सरकारलाई थप दबाबमा राखेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाई छ । यसले गर्दा पनि नेपालमा कोरोना संक्रमणले कुन स्तरसम्मको असर गर्छ ? अहिले नै अनुमान लगाई हाल्ने अवस्था भने देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस