इस्लामाबाद । पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा बढी आतंककारीको ज्यान गएको छ । सुरक्षा स्रोतहरूका अनुसार, यो कारबाही प्रतिबन्धित आतंककारी समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को एक समूहविरुद्ध गरिएको हो ।
उत्तर वजीरिस्तान र दक्षिण वजीरिस्तानका सीमावर्ती क्षेत्रमा आधारित विश्वसनीय गुप्त सूचनाका आधारमा पाकिस्तानले सटीक हवाई कारबाही सञ्चालन गरेको हो । आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतंककारी मारिएका स्रोतहरूले बताएका छन् ।
हाल टीटीपीसँग युद्धविराम कायम भए पनि उक्त समूहले पाकिस्तानका विभिन्न स्थानहरूमा आक्रमण जारी राखेको जनाइएको छ । शुक्रबार उत्तर वजीरिस्तानमा भएको एक सवारी बम विस्फोटमा एक सुरक्षाकर्मीको ज्यान गएको थियो भने केही अन्य घाइते भएका थिए ।
सुरक्षा निकायका अनुसार पछिल्ला ४८ घण्टामा आतंककारीहरू अफगानिस्तानबाट पाकिस्तानमा आक्रमण गर्न आएका थिए ।
पाकिस्तानी सुरक्षा बलले आतंककारी गतिविधिहरूको कडा जवाफ दिने चेतावनी पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०८२, १३ : २९
लेखकबाट थप