भारतले किन भेट्नै चाहेन दिल्लीस्थित नेपाली राजदुत ?

‘भारतका लागि नेपाली राजदुत निलाम्वर आचार्यले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग भेटका लागि अनेक प्रयास गरेपनि भारतीय पक्षले भेटनै अस्वीकार गर्दै आईरहेको छ’

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०७७, १२ : ०८
भारतले किन भेट्नै चाहेन दिल्लीस्थित नेपाली राजदुत ?

काठमाडौं । सीमा विवादमा कूटनीतिक तहमा वार्ता सुरु गर्न नेपाल र भारत दुबैमा दबाब बढ्दै जाँदा भारतका लागि नेपालका राजदूतले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग भेटका लागि गरिरहेको प्रयास सफल हुन सकेको छैन् । भारतका लागि नेपाली राजदुत निलाम्वर आचार्यले भारतीय विदेश मन्त्रालयका प्रतिनिधीसँग भेटका लागि केही समययता प्रयास गरेपनि सम्भव हुन नसकिरहेको नेपाली दुतावास स्रोतले बताएको छ ।

गत कात्तिकमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेतको भूभाग समेटेर भारतले राजनीतिक नक्सा जारी गरेपछि वर्षाै पूरानो सिमा विवाद अहिले फेरि उत्र्कषमा बल्झिएर आएको छ । भारतले गरेको अतिक्रमणको कडा जवाफ दिन नेपालले पनि आफ्नो अतिक्रमित भूमि लिम्पियाधुरा सम्मको भू भागलाई समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि दुई देश बीचको सम्बन्धमा अहिले तिक्तता बढेको छ । 

दुई देशबीचको बढ्दो तिक्क्तता मेटने र आपसी वार्ता र सम्वादकै माध्यमबाट सीमा विवाद समाधानको पहल गर्ने नेपाली पक्षको पहिलो प्रयास देखिन्छ । त्यसैका लागि राजदुत आचार्यलाई प्रयास थाल्न सरकारले निर्देशन दिएको छ । राजदुत आचार्य सोही कारण अहिले भारतीय अधिकारीहरुसँग भेटका लागि प्रयास गरिरहेका छन् । तर सफल भने हुन सकिरहेका छैनन् । राजदुत आचार्यले भेटका लागि गरेको प्रयासमा भारतीय पक्षले सकारात्मक जवाफ नदिएकोले भारत यस मामिलामा कडा रुपमा प्रस्तुत हुन खोजेको अर्थमा बुझन सकिने दुतावास स्रोतले बताएको छ । नेपालले गत कात्तिक देखि नै भारतीय पक्षसँग वार्ता र सम्वादका लागि प्रस्ताव गरेको ग¥यै छ ।

तर भारतकै आनाकानीका कारण सम्वाद हुन सकिरहेको छैन् । नेपालले भने वार्ता र सम्वादका लागि प्रधानमन्त्री, परराष्ट्रमन्त्री र परराष्ट्र सचिव जुनकुनै तहमा पनि आफु तयार रहेको सन्देश औपचारिक÷अनौपचारिक तहमा पठाईरहेको छ । तर जुनकुनै च्यानल प्रयोग गरेर नेपालले भारतलाई सम्वादका लागि आग्रह गरेपनि भारतले अटेर गर्दै आईरहेको छ । नेपालले सम्वादका लागि गरिरहरेको आग्रहलाई अटेर गरेको भन्दै भारतमा पनि स्यवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको आलोचना बढिरहदा पनि उसले सुने÷नसुने झै गरिरहेको छ । ‘भारतका लागि नेपाली राजदुत (निलाम्बर आचार्य)ले भारतीय पक्षसँग वार्ता र सम्वादका लागि प्रयास गरिरहनु भएको छ ।

तर आचार्य सफल हुन सकिरहनु भएको छैन, उहाँले सम्वादका लागि प्रयास नगरेको होइन,’ दुतावास स्रोतले भन्यो,–‘भारतीय अधिकारीहरुले नै राजदुत आचार्यसँग भेटन अस्वीकार गरिरहेकोले वार्ताको वातावरण निर्माण गर्ने प्रयास कठिन भईरहेको छ ।’ गत कात्तिक यता मात्रै नेपालले आफैले  दुई–दुई पटक मिति प्रस्ताव गर्दै भारतलाई वार्ताको प्रस्ताव गरेको थियो । भारतले ति दुवै मितिलाई अस्वीकार गरेपछि आफै मिति प्रस्ताव गर्न पनि नेपालले आग्रह गरेको थियो । त्यसमा पनि अटेर गर्दै आएकै भारतले यही बेला फेरि नेपाली भूमिमा नेपालको अनुमति बिनै सडक निर्माणको उद्घाटन गरेपछि सम्बन्धमा थप चिसोपना बढेको छ ।

नेपालले पनि भारतले वार्तालाई अस्वीकार गर्दै एकपछि अर्काे मिचाहा प्रवृति बढाउदै लगेपछि कडा आपत्ति जनाएको छ । नेपालस्थित भारतीय राजदुतलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नै कार्यकक्षमा बोलाएर नेपालको असहमतिको कुटनीतिक नोट मात्र बुझाएन, वार्ताबाट समस्या समाधानका लागि आग्रह समेत गरेका थिए । तर पनि भारतीय पक्ष कोरोना पछि मात्र सम्वादका विषयमा सोच्न सकिने भन्दै गैहजिम्मेवारपूर्ण ढंगले प्रस्तुत गरिरहेको छ । सीमा विवाद बढेसँगै भारतले नेपालबाट उत्पादित पाम तेल र चियाको  निर्यातलाई रोक लगाएको छ । उसले नेपालमाथी फेरि पूरानै शैलीमा नाकाबन्दी लगाउन अग्रसर नहोला भन्न नसकिने चर्चा पनि कुटनीतिक वृत्तमा चल्न थालेको छ ।

नेपाली राजदुत आचार्यले बारम्बार व्यक्तिगत भेटघाट गर्ने वा भारतीय विदेश सचिव हर्षवर्धन श्रीगला र सहसचिव पियुष श्रीवास्तव, (जो नेपाल–भूटान डेस्कको इन्चार्ज छन) सँग कुराकानी गर्ने प्रयास गरिरहेछन् । भारतीय विदेश सचिव श्रीगलाले भारतीय पक्षबाट परराष्ट्र सचिवको सीमामा वार्ता गर्ने नेतृत्व लिइरहेका छन् भने श्रीवास्तव नेपाल–भुटान डेस्कको प्रभारी विदेश मन्त्रालयका एक महत्वपूर्ण व्यक्ति हुन् । यी दुवैले राजदुत आचार्यले ब्यीक्तगत भेटका लागि गरिरहेको प्रयासलाई पनि स्वीकार गरिरहेका छैनन् । तर नेपाली राजदुत आचार्यको त्यहाँको प्रयास पनि प्रभावकारी नभएको हुन सक्ने आशंका पनि कतिपय कुटनीतिज्ञले गरिरहेका छन् ।

भारतका लागि पूर्व राजदुत दुर्गेशमान सिंहले भने,–‘भारतीय राजदुत पनि आफै सक्रिय हुनैपर्छ, तर यसका अतिरिक्त नेपाली नेताहरुले पनि राजनीतिक तहको सम्वादको प्रयास गर्नुपर्छ ।’ भारतस्थित नेपाली दुतावासका एक अधिकारीका अनुसार, भारतीय विदेश मन्त्रालयले राजदुत आचार्यलाई वरिष्ठ भारतीय अधिकारीहरू समक्ष पुग्न सञ्चार माध्यमबाटै भएपनि कुरा गर्न अनुरोध गरेपनि उनको त्यो प्रयास पनि सफल हुन सकिरहेको छैन । 
 

प्रतिक्रिया दिनुहोस