संसदको रोष्ट्रममा राखिएको लोगो र सांसदहरुले लगाउँदै आएको लोगो परिवर्तन गर्ने निर्णय

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०७७, १६ : ५३
संसदको रोष्ट्रममा राखिएको लोगो र सांसदहरुले लगाउँदै आएको लोगो परिवर्तन गर्ने निर्णय

File Photo

काठमाडौं । संसदको रोष्ट्रममा राखिएको लोगो र सांसदहरुले लगाउँदै आएको लोगो परिवर्तन गर्ने निर्णय भएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले संघीय संसदको लोगो र सांसदहरुले प्रयोग गर्दै आएको लोगोलाई परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले संसदको रोष्ट्रममा राखिएको लोगो र सांसदहरुले लगाउँदै आएको लोगो परिमार्जन गर्ने निर्णय कार्यान्वयनका लागि तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ। बैठकमा संविधान संशोधनका लागि सबै राजनीतिक दलहरु एकजुट भएर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले राष्ट्रिय सहमतिका विषयमा सल्लाह गरेर अगाडि बढ्ने र कोरोना नियन्त्रणमा भएका कमजोरी सच्याएर प्रभावकारी ढंगले अगाडि बढ्ने विषयमा सभामुख मार्फत सरकारलाई सुझाव दिने विषयमा छलफल भएको बताए । बैठकले नेपालको नयाँ नक्सा समेत समेटेर संसदको लोगो जारी गर्न सभामुखलाई सिफारिस गरिएको उनले बताए। बैठकले बजेट विनियोजनपछि जेठ २६ गतेसम्मको संसदको कार्यक्रम पनि तय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटमाथिको छलफल र संसदको अन्य कार्यक्रमलाई छोटो बनाउने विषयमा छलफल भएको बताए। सुरक्षित र प्रक्रियागत रुपमा संसदका कार्यक्रम सञ्चालन गरी अगाडि बढ्दै संविधान संशोधनका लागि सबै दलहरुसँग छलफल गरी सहमतिका लागि सरकारले पहल गर्न आग्रह गर्ने विषयमा पनि छलफल भएको उनले बताए।

सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि निशान छापमा रहेको नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव पेश गरेको छ। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ नक्सा गरी गरिसकेको छ । यसअघि राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति बैठकले पनि लोगो परिवर्तनको निर्णय गरेको थियो ।