नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ ।
उहाँ अस्पताल भर्ना हुनुभएको उक्त अस्पतालले पुष्टि गरेको छ । सो समाचारको भारतीय काँग्रेसले पनि पुष्टि गरेको छ । छाती दुखेर असहज महसुश भएपछि उहाँलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ ।
पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उहाँ ८७ वर्षको हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।यसअघि पनि डा. सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उहाँको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ ।
यसपटक छाती दुखेपछि उहाँलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।
भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिनुहुने डा.सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद हुनुहुन्छ । उहाँले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।
यसैबीच उहाँको स्वास्थ्यसम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले चासो व्यक्त गर्नुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री डा.सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
मुख्यमन्त्री केजरीवालले पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन पनि दिनुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । (रासस/एएनआइ)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ बैशाख २०७७, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा