काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग आफ्नै सरकारी निवास बालुवाटारमा गोप्य वार्ता गरेका छन् । बुधबारको पार्टी सचिवालय बैठकमा अध्यक्ष पष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल देखि प्रवक्ता नारायणकाजी श्रेष्ठ सम्मले ओलीको राजीनामा मागेपछि ओलीले गौतमलाई कोरोना पछि प्रधानमन्त्री बनाउने र नेपाललाई पार्टी विधान संसोधन गरेर तेश्रो अध्यक्ष बनाउने नयाँ प्रस्ताव अगाडी सारेका थिए ।
ओलीको प्रस्तावले सत्तारुढ दल नेकपाभित्र तरंग गईरहेको र उक्त प्रस्तावमध्ये पनि गौतमलाई अहिलेको अवस्थामै प्रधानमन्त्री बनाउन कसरी सम्भव छ भन्ने आधार तय नभईरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल र गौतमलाई बालुवाटार बोलाएर गोप्य छलफल गरेका हुन् । बिहिबार साँझ उनले गौतमसँग शुरुमा र त्यसपछि नेपालसँग करिव ढेड ढेड घण्टाका दरले छलफल गरेको बालुवाटार स्रोतले बतायो ।
ओलीले नेपाल र गौतमसँग गरेको यो गोप्य छलफललाइ अर्थपूर्ण रुपमा हेरिएको छ । तर बालुवाटारले नेताहरुसँग सम्वैधानिक निकायको नियुक्तिका विषयमा छलफलका लागि बोलाइएको तर्क गरेको छ । अघिपछि कहिल्यै नियुक्तिका विषयमा छलफल नगरेका ओलीले यही विषयमा छलफल आवश्यक ठानेका थिए भने अध्यक्ष प्रचण्डसँग पनि छलफल गर्न सक्थे । तर उनीलाई छलफलका लागि ओलीले बोलाएका छैनन् । प्रधानमन्त्री ओलीले पार्टी लाई छलेर र अनुपयुक्त समयमा राजनीतिक दल विभाजन गर्न सघाउ पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन र सम्वैधानिक परिषदमा प्रतिपक्ष बिनै निर्णय लिन सक्ने गरी गणपूरक संख्या घटाउने गरी सम्वैधानिक परिषद सम्बन्धी ऐन संसोधनका लागि दुई अलग अलग अध्यादेश ल्याएका थिए ।
८ वैशाखमा ल्याएको यस्तो दुई अध्यादेश ल्याएपछि उनको पार्टीभित्र र बाहिर दुवैतिर चर्काे आलोचना भएको थियो । त्यसपछि उनी उक्त आफ्नै निर्णयमा चार दिन पनि टिक्न सकेनन । उनले दुवै अध्यादेश फिर्ता लिए । त्यसपछि उनले पार्टी र सरकार दुबै चलाउन नसकेको निश्र्कषमा नेकपाका बहुसंख्यक नेता कार्यकर्ता पुगे । ओलीले अब पार्टी अध्यक्ष र सरकारको प्रमुख प्रधानमन्त्री पदबाट राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने आवाज उठन थाल्यो ।
२० जना स्थायी समिति सदस्यले त अझ यस विषयमा छलफलको माग गर्दै लिखित रुपमै दुवै अध्यक्षलाई पत्र नै बुझाए । त्यसपछि ओली सरकार र पार्टीका दुवै मोर्चाको आफनो जिम्मेवारी बचाउन अनेक तिकडमबाजीमा लागेका छन् ।
बहुमत नेताहरुले पार्टी बैठक माग गर्दा पनि उनी स्थायी समिति बैठक छल्न खोजिरहेका छन् । बरु त्यसको सटटा आफ्नै संसदीय दलका नेताहरुलाई अनेक प्रलोभन र डर धम्की दिदै खाली कागजमा हस्ताक्षर गराउने काममा जुटे । पार्टी अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री जस्तो ब्यक्तिले प्रधानमन्त्री निवास बालुवाटारमै नेताहरुलाई बोलाएर जर्बजस्त दलमा बहुमत पु¥याउने गरी संसदीय अंकगणितमा जुटे, यसले नेकपाभित्र ओलीको राजनीतिलाई झन घृणित बनायो । त्यत्तिः गर्दा पनि उनको संसदीय दलमा बहुमत जुट्न सकेन । त्यसपछि उनले बुधबारको सचिवालय बैठकमा सम्बैधानकि रुपमा सम्भव नै नभएको हास्यास्पद प्रस्ताव अगाडी सारेर जग हसाउने काम गरे ।
ओलीको यो प्रस्तावभित्र मुख्यत दुई मक्सद थिए :
पहिलोः
असम्भव रहेका र प्रधानमन्त्रीको चरम महत्वाकाक्षा पालेर बसेका उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री प्रस्ताव गर्दा आफुले तत्काल कुनै पनि पद छोड्न नपर्ने र आफनो अध्यक्ष तथा प्रधानमन्त्री पदमाथी आईलागेको संकट तत्कालका लागि टार्न सकिने ।
दोश्रो :
प्रधानमन्त्री ओलीले गौतमलाई पदको भोग जगाएर २३ पुसयता बन्दै आएको सचिवालयका बहुमत सदस्यहरुको गठबन्धन भत्काउने र आफु सचिवालयमा बहुमत पुग्न प्रयास गर्ने । ओलीले दाहाल र नेपाल मिल्दा स्थायी समिति र केन्द्रीय समितिमा कहिल्यै बहुमतमा नपुग्ने देखेपछि सचिवालयमै बरु गौतमलाई आफुतिर तानेर बहुमतको प्रयास गर्न यस्तो प्रस्ताव गरेको हुनसक्ने दाहाल नेपाल पक्षको बुझाई छ ।
यही अवस्थाका बीच दाहाल नेपाल समुहलाई नै तरंगित बनाउने गरी उनले बिहीवार साँझ उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर गोप्य वार्ता गरेका हुन् । उनको त्यो प्रस्तावभित्र पूर्व एमाले नेताहरुको ब्यवस्थापन गर्ने र एकत्रित गर्ने योजना पनि भित्र लुकेको मक्सद भएको बुझाई पनि कतिपय नेताहरुको देखिन्छ । यही प्रयोजनका लागि गौतम र नेपाललाई फेरि पनि फकाउने रणनीतिमा उनले बिहीबार गौतम र नेपालसँग भेटवार्ता गरेका हुन् । गौतमसँगको भेटवार्ताका विषयमा भने के कुराकानी भए अहिलेसम्म गोप्य राखिएका छन् । तर नेपालले भने प्रधानमन्त्रीसँगको छलफलमा आफुले ओलीको तेश्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेर फर्केको नेपाल निकट एक स्थायी समिति सदस्यले बताएका छन् । ‘नेपालले प्रधानमन्त्रीले तेश्रो अध्यक्ष बनाउन गरेको प्रस्ताव अस्वीकार गरेर फर्किनुभएको छ, ओलीको प्रस्ताव उहाँले अस्वीकार गर्नुभएको छ’ ति स्थायी समिति सदस्यले भने । तर गौतम पक्षधरका नेताहरुले भने ओलीको प्रस्ताव ब्यक्तिको नभई पार्टी अध्यक्षको प्रस्ताव भएकोले त्यसलाई पारित गराउने र कार्यान्वयनमा लैजाने विषयमा ओलीको आगामी स्टेप के हुन्छन ? पहिले हेरेर मात्र प्रतिक्रिया दिन सकिने बताएको स्रोत बताँउछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०७७, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा