माधव नेपाल र वामदेव गौतमसँग ओलीले किन गरे गोप्य भेटवार्ता ?

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०७७, ०८ : ४१
माधव नेपाल र वामदेव गौतमसँग ओलीले किन गरे गोप्य भेटवार्ता ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग आफ्नै सरकारी निवास बालुवाटारमा गोप्य वार्ता गरेका छन् । बुधबारको पार्टी सचिवालय बैठकमा अध्यक्ष पष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल देखि प्रवक्ता नारायणकाजी श्रेष्ठ सम्मले ओलीको राजीनामा मागेपछि ओलीले गौतमलाई कोरोना पछि प्रधानमन्त्री बनाउने र नेपाललाई पार्टी विधान संसोधन गरेर तेश्रो अध्यक्ष बनाउने नयाँ प्रस्ताव अगाडी सारेका थिए । 

ओलीको प्रस्तावले सत्तारुढ दल नेकपाभित्र तरंग गईरहेको र उक्त प्रस्तावमध्ये पनि गौतमलाई अहिलेको अवस्थामै प्रधानमन्त्री बनाउन कसरी सम्भव छ भन्ने आधार तय नभईरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल र गौतमलाई बालुवाटार बोलाएर गोप्य छलफल गरेका हुन् । बिहिबार साँझ उनले गौतमसँग शुरुमा र त्यसपछि नेपालसँग करिव ढेड ढेड घण्टाका दरले छलफल गरेको बालुवाटार स्रोतले बतायो ।

ओलीले नेपाल र गौतमसँग गरेको यो गोप्य छलफललाइ अर्थपूर्ण रुपमा हेरिएको छ । तर बालुवाटारले नेताहरुसँग सम्वैधानिक निकायको नियुक्तिका विषयमा छलफलका लागि बोलाइएको तर्क गरेको छ । अघिपछि कहिल्यै नियुक्तिका विषयमा छलफल नगरेका ओलीले यही विषयमा छलफल आवश्यक ठानेका थिए भने अध्यक्ष प्रचण्डसँग पनि छलफल गर्न सक्थे । तर उनीलाई छलफलका लागि ओलीले बोलाएका छैनन् । प्रधानमन्त्री ओलीले पार्टी लाई छलेर र अनुपयुक्त समयमा राजनीतिक दल विभाजन गर्न सघाउ पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन र सम्वैधानिक परिषदमा प्रतिपक्ष बिनै निर्णय लिन सक्ने गरी गणपूरक संख्या घटाउने गरी सम्वैधानिक परिषद सम्बन्धी ऐन संसोधनका लागि दुई अलग अलग अध्यादेश ल्याएका थिए ।

८ वैशाखमा ल्याएको यस्तो दुई अध्यादेश ल्याएपछि उनको पार्टीभित्र र बाहिर दुवैतिर चर्काे आलोचना भएको थियो । त्यसपछि उनी उक्त आफ्नै निर्णयमा चार दिन पनि टिक्न सकेनन । उनले दुवै अध्यादेश फिर्ता लिए । त्यसपछि उनले पार्टी र सरकार दुबै चलाउन नसकेको निश्र्कषमा नेकपाका बहुसंख्यक नेता कार्यकर्ता पुगे । ओलीले अब पार्टी अध्यक्ष र सरकारको प्रमुख प्रधानमन्त्री पदबाट राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने आवाज उठन थाल्यो ।

२० जना स्थायी समिति सदस्यले त अझ यस विषयमा छलफलको माग गर्दै लिखित रुपमै दुवै अध्यक्षलाई पत्र नै बुझाए । त्यसपछि ओली सरकार र पार्टीका दुवै मोर्चाको आफनो जिम्मेवारी बचाउन अनेक तिकडमबाजीमा लागेका छन् ।

बहुमत नेताहरुले पार्टी बैठक माग गर्दा पनि उनी स्थायी समिति बैठक छल्न खोजिरहेका छन् । बरु त्यसको सटटा आफ्नै संसदीय दलका नेताहरुलाई अनेक प्रलोभन र डर धम्की दिदै खाली कागजमा हस्ताक्षर गराउने काममा जुटे । पार्टी अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री जस्तो ब्यक्तिले प्रधानमन्त्री निवास बालुवाटारमै नेताहरुलाई बोलाएर जर्बजस्त दलमा बहुमत पु¥याउने गरी संसदीय अंकगणितमा जुटे, यसले नेकपाभित्र ओलीको राजनीतिलाई झन घृणित बनायो । त्यत्तिः गर्दा पनि उनको संसदीय दलमा बहुमत जुट्न सकेन । त्यसपछि उनले बुधबारको सचिवालय बैठकमा सम्बैधानकि रुपमा सम्भव नै नभएको हास्यास्पद प्रस्ताव अगाडी सारेर जग हसाउने काम गरे ।

ओलीको यो प्रस्तावभित्र मुख्यत दुई मक्सद थिए :
पहिलोः
असम्भव रहेका र प्रधानमन्त्रीको चरम महत्वाकाक्षा पालेर बसेका उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री प्रस्ताव गर्दा आफुले तत्काल कुनै पनि पद छोड्न नपर्ने र आफनो अध्यक्ष तथा प्रधानमन्त्री पदमाथी आईलागेको संकट तत्कालका लागि टार्न सकिने ।
दोश्रो :
प्रधानमन्त्री ओलीले गौतमलाई पदको भोग जगाएर २३ पुसयता बन्दै आएको सचिवालयका बहुमत सदस्यहरुको गठबन्धन भत्काउने र आफु सचिवालयमा बहुमत पुग्न प्रयास गर्ने । ओलीले दाहाल र नेपाल मिल्दा स्थायी समिति र केन्द्रीय समितिमा कहिल्यै बहुमतमा नपुग्ने देखेपछि सचिवालयमै बरु गौतमलाई आफुतिर तानेर बहुमतको प्रयास गर्न यस्तो प्रस्ताव गरेको हुनसक्ने दाहाल नेपाल पक्षको बुझाई छ । 

यही अवस्थाका बीच दाहाल नेपाल समुहलाई नै तरंगित बनाउने गरी उनले बिहीवार साँझ उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर गोप्य वार्ता गरेका हुन् । उनको त्यो प्रस्तावभित्र पूर्व एमाले नेताहरुको ब्यवस्थापन गर्ने र एकत्रित गर्ने योजना पनि भित्र लुकेको मक्सद भएको बुझाई पनि कतिपय नेताहरुको देखिन्छ । यही प्रयोजनका लागि गौतम र नेपाललाई फेरि पनि फकाउने रणनीतिमा उनले बिहीबार गौतम र नेपालसँग भेटवार्ता गरेका हुन् । गौतमसँगको भेटवार्ताका विषयमा भने के कुराकानी भए अहिलेसम्म गोप्य राखिएका छन् । तर नेपालले भने प्रधानमन्त्रीसँगको छलफलमा आफुले ओलीको तेश्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेर फर्केको नेपाल निकट एक स्थायी समिति सदस्यले बताएका छन् । ‘नेपालले प्रधानमन्त्रीले तेश्रो अध्यक्ष बनाउन गरेको प्रस्ताव अस्वीकार गरेर फर्किनुभएको छ, ओलीको प्रस्ताव उहाँले अस्वीकार गर्नुभएको छ’ ति स्थायी समिति सदस्यले भने । तर गौतम पक्षधरका नेताहरुले भने ओलीको प्रस्ताव ब्यक्तिको नभई पार्टी अध्यक्षको प्रस्ताव भएकोले त्यसलाई पारित गराउने र कार्यान्वयनमा लैजाने विषयमा ओलीको आगामी स्टेप के हुन्छन ? पहिले हेरेर मात्र प्रतिक्रिया दिन सकिने बताएको स्रोत बताँउछ ।